काठमाडौं, पश्चिम एसियामा उत्पन्न तनावका कारण रोकिएको खाडी मुलुकतर्फको नयाँ श्रम स्वीकृति खोल्न सरकार अघि बढेको छ। परराष्ट्र सचिवको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टिम (ERT) ले श्रम स्वीकृति खोल्न औपचारिक सिफारिस गरेसँगै प्रक्रियाले गति लिएको हो।
अमृत राई नेतृत्वमा बसेको बैठकले पश्चिम एसियाको अवस्था क्रमशः सहज बन्दै गएको निष्कर्ष निकाल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई नयाँ श्रम स्वीकृति खुलाउन सिफारिस गरेको हो।
अमेरिका–इरान तनाव र इजरायल–इरान युद्ध चर्किएपछि नेपाल सरकारले कतार, यूएई, बहराइन, कुवेत, ओमान, इजरायल र टर्कीजस्ता प्रमुख गन्तव्य मुलुकमा नयाँ श्रम स्वीकृति रोक लगाएको थियो। यसले हजारौं नेपाली कामदार प्रभावित भएका थिए।
सरकारले तत्कालीन अवस्थामा जोखिम न्यूनीकरणलाई प्राथमिकता दिँदै नयाँ कामदार पठाउने प्रक्रिया स्थगन गरे पनि बिदामा आएका कामदारलाई पुनः फर्कन श्रम नवीकरण भने खुला राखिएको थियो। तर नयाँ श्रम स्वीकृति रोकिँदा वैदेशिक रोजगारीको सम्पूर्ण चक्र प्रभावित बनेको थियो।
ERT को सिफारिससँगै श्रम मन्त्रालयले रोकिएको प्रक्रिया पुनः सञ्चालन गर्ने तयारी अघि बढाएको जनाएको छ। निर्णय कार्यान्वयन भएमा नयाँ श्रम स्वीकृति, दूतावासमार्फत मागपत्र प्रमाणीकरण (Demand Letter Attestation) लगायत प्रक्रिया पुनः सुरु हुनेछन ।
लामो समयदेखि अन्योलमा रहेको मेनपावर क्षेत्र र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरूका लागि यो सिफारिसलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। मेनपावर व्यवसायीहरूका अनुसार छिटो निर्णय नभए रोजगारी गुम्ने जोखिम थियो।
अब सरकारले सुरक्षा अवस्थाको निरन्तर मूल्यांकन गर्दै अन्तिम निर्णय गर्नेछ। परिस्थिति अनुकूल रहेमा खाडी मुलुकतर्फको रोजगारी बजार चाँडै पूर्ण रूपमा खुल्ने अपेक्षा गरिएको छ भने भिसा प्राप्त गरिसकेका करिव ८ हजार कामदार छिट्टै उड्ने नेपाल वैदेशिक रोजगार ब्याबसायी संघका अध्यक्ष भुवन गुरुङले बताए ।
सरकारले स्वीकृति खुलाउन प्रक्रिया शुरु गरेकोमा गुरुङले धन्यवाद ब्यक्त गरे ।