काठमाडौं,वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि अनावश्यक कागजी बोझ थप्ने प्रयास अन्ततः असफल भएको छ । अध्यागमन विभागले स्पष्ट शब्दमा घोषणा गर्दै विमानस्थलमा हवाई टिकट तथा मेनपावर कम्पनीलाई तिरेको बिल र रसिद अनिवार्य नभएको बताएको छ।
केही दिनअघि वैदेशिक रोजगार विभागबाट यस्तो बिल–रसिद अनिवार्य गराउने गलत निर्णय सार्वजनिक भएपछि श्रमिक र सरोकारवालाबीच तीव्र असन्तुष्टि फैलिएको थियो। डिजिटल युगमा सेवा प्रणालीलाई कागजरहित बनाउने आवश्यकता रहेको बेला उल्टै थप कागजात माग्नु श्रमिकमाथि अन्याय हुने भन्दै व्यापक आलोचना भएको थियो।
अध्यागमन विभागको पछिल्लो निर्णयले यस्तो अन्योल अन्त्य गरेको छ । अब वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले श्रम स्वीकृति, राहदानी, भिसा र हवाई टिकट जस्ता आधारभूत कागजात भए मात्र पर्याप्त हुने स्पष्ट पारिएको छ। अतिरिक्त बिल–रसिदका नाममा गरिने अनावश्यक झन्झट पूर्ण रूपमा हटाइएको विभागको भनाइ छ।
यो कदमले विमानस्थलमा हुने ढिलाइ, हैरानी र सम्भावित दुर्व्यवहारलाई समेत रोक्ने अपेक्षा गरिएको छ। श्रमिकमैत्री, पारदर्शी र सरल सेवा प्रवाहतर्फ सरकार एक कदम अगाडि बढेको संकेतका रूपमा यसलाई हेरिएको छ।
यस सकारात्मक हस्तक्षेपका लागि गृह मन्त्रालय तथा अध्यागमन विभागप्रति श्रमिक, अधिकारकर्मी,
सरोकारवाला निकाय र सर्वसाधारणले धन्यवाद व्यक्त गरेका छन ।