काठमाडौं ,चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि उनलाई परिवारको जिम्मा लगाइएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका बलेलाई पाँच दिनको हिरासतपछि रिहा गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनलाई थप हिरासतमा राख्नुपर्ने आधार नदेखिएपछि हाजिरी जमानीमा छाडिएको बताइएको छ।
यता, अमेरिकामा बस्दै आएकी संगम बिष्ट ले बलेमाथि गम्भीर आरोप लगाउँदै मुद्दा दायर गरेकी छन्। तर ती आरोपहरूबारे नेपालमा औपचारिक प्रमाण र प्रक्रिया अझै परीक्षणकै चरणमा रहेको छ।
बलेमाथि लागेको आरोपले सामाजिक सञ्जाल तताएको छ। एकातिर केही समूहले उनलाई दोषी ठहर गर्न हतारो गरिरहेका छन् भने अर्कोतर्फ उनका समर्थकहरूले बिना प्रमाण चरित्रहत्या गर्न नहुने भन्दै आवाज उठाइरहेका छन्।
लामो समयदेखि हास्य क्षेत्रमा सक्रिय बलेले नेपाली दर्शकमाझ छुट्टै छाप छोडेका छन्। यस्तो अवस्थामा उनीमाथि लागेको आरोपको सत्यतथ्य बाहिर ल्याउनु सम्बन्धित निकायको जिम्मेवारी हो।
कानुनको आधारभूत सिद्धान्तअनुसार अदालतबाट दोषी ठहर नभएसम्म कुनै पनि व्यक्ति निर्दोष मानिन्छ। त्यसैले भावनामा होइन, प्रमाणमा आधारित निष्कर्ष नै अन्तिम हुने देखिन्छ।
हाल बले रिहा भएसँगै घटनाको सत्य के हो भन्नेबारे अनुसन्धानको अन्तिम प्रतिवेदन नै निर्णायक बन्नेछ।