शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनएद्वारा परराष्ट्रमन्त्री खनालसङ्ग भेट,विदेशस्थित नेपालीलाई देश विकासमा योगदान गर्न आग्रह, ठूला लगानी र नीतिगत सहकार्यमा जोड

शनिबार, चैत्र २१ २०८२

काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष हेमराज शर्मा को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाल सँग भेट गर्दै विदेशमा रहेका नेपालीका विविध मुद्दामा सहजीकरण गर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा प्रतिनिधिमण्डलले मन्त्री खनाललाई बधाई तथा शुभकामना व्यक्त गर्दै विदेशस्थित नेपालीको अधिकार, सुविधा र सहभागिता सुनिश्चित गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको औंल्याएको हो।
भेटमा अध्यक्ष शर्माले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूको ज्ञान, सीप, अनुभव र पूँजीलाई नेपालको विकासमा प्रभावकारी रूपमा उपयोग गर्न नीतिगत सहजीकरण अपरिहार्य रहेको बताए। “विदेशमा रहेका नेपालीहरू नेपालको समृद्धिका लागि महत्वपूर्ण स्रोत हुन्, उनीहरूको सहभागितालाई संस्थागत रूपमा जोड्नुपर्छ,” उनले भने। उनले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, कानुनी तथा संवैधानिक प्रबन्धको सुदृढीकरण, साथै अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारी साधन, राष्ट्रिय परिचयपत्र र मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरे।
त्यस्तै, विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार र सहयोगका लागि दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना तथा कानुनी सहायता प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै एनआरएनए सरकारसँग सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे।
संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो ले सुशासन, भ्रष्टाचार नियन्त्रण र ‘समृद्ध नेपाल’ को लक्ष्य प्राप्तिमा प्रवासमा रहेका नेपालीहरूको भूमिका निर्णायक हुन सक्ने बताए। “देशलाई रूपान्तरण गर्ने हो भने साना लगानीभन्दा ठूला परियोजनामा ध्यान दिनुपर्छ, जसमा विदेशस्थित नेपालीको अनुभव र पूँजी महत्वपूर्ण हुन्छ,” उनले उल्लेख गरे। उनले विश्वका करिब ९० देशमा फैलिएको नेपाली समुदायलाई एकीकृत गर्दै विकास अभियानमा जोड्नुपर्नेमा जोड दिए।
परराष्ट्रमन्त्री खनालले विदेशस्थित नेपालीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्यलाई प्राथमिकतामा राखिने बताए। हालै सम्पन्न निर्वाचनमा विदेशमा रहेका नेपालीहरूको भूमिकालाई उल्लेख गर्दै उनले आभार व्यक्त गरे। “देशमा आएको परिवर्तनमा प्रवासी नेपालीहरूको योगदान स्पष्ट छ, अब त्यसलाई विकासको दिशामा केन्द्रित गर्नुपर्छ,” उनले भने।
आर्थिक समृद्धिका लागि ठूला लगानी परियोजनामा सहकार्य आवश्यक रहेको औंल्याउँदै मन्त्री खनालले सेवा क्षेत्र सुधारमा समेत जोड दिए। विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउने प्रक्रियालाई व्यवस्थित बनाउन विशेष कोष स्थापना गर्ने प्रस्ताव पनि उनले अघि सारे। नागरिकता सम्बन्धी विषयमा सरकार सकारात्मक भए पनि केही कानुनी जटिलताका कारण आवश्यक संशोधन र अध्ययन भइरहेको जानकारी उनले दिए।
पोर्चुगलमा रहेका नेपालीहरूको समस्याबारे मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको उल्लेख गर्दै उनले सम्बन्धित देशसँग निरन्तर संवाद भइरहेको बताए। मन्त्रालयको स्रोत सीमित भए पनि सेवा प्रवाहलाई प्रभावकारी बनाउन एनआरएनएसँग सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
भेटका क्रममा एनआरएनए पदाधिकारीहरूले नागरिकता, लगानी, श्रम आप्रवासन तथा विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएका थिए। दुवै पक्षबीच आगामी दिनमा सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने सहमति भएको जनाइएको छ।
यसै अवसरमा एनआरएनए युरोप क्षेत्रीय समितिले आगामी जुन २२–२३, २०२६ मा डब्लिन मा आयोजना हुने १७औँ युरोप क्षेत्रीय सम्मेलनमा मन्त्री खनाललाई प्रमुख अतिथिका रूपमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएको छ । उक्त भेटमा एनआरएनका पदाधिकारी र पररास्ट्र मन्त्रालयका पदाधिकारीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार