शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनए उपाध्यक्ष प्रविन गुरुङद्वारा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई, सहकार्यबाट समृद्धि सम्भव हुने विश्वास

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष प्रविन गुरुङ ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह”बालेन”नेतृत्वको सरकारबाट विशेषगरी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था सुधार हुने अपेक्षा व्यक्त गरेका छन्।
उनले विदेशमा श्रम गरिरहेका लाखौँ नेपालीहरूको श्रम, पसिना र योगदानले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनीहरूको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको बताए।
गुरुङका अनुसार, मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत नेपाली श्रमिकहरूले अझै पनि श्रम शोषण, असुरक्षित कार्य वातावरण, न्यून पारिश्रमिक र कानुनी जटिलताजस्ता समस्याहरू भोगिरहेका छन्। “नयाँ सरकारले यी समस्याहरूलाई गम्भीर रूपमा लिएर कूटनीतिक पहल, श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन र दूतावास सेवाको सुदृढीकरणमार्फत ठोस सुधार ल्याउनुपर्छ,” उनले उल्लेख गरेका छन्।
यसैगरी, प्रवासमा रहेका नेपालीहरूको हक हित संरक्षण, उनीहरूको सीप र अनुभवलाई देश विकासमा उपयोग गर्ने नीति निर्माण तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउने दिशामा सरकार अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन्।
गुरुङले प्रवासी नेपालीहरूसँग सरकारको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गर्दै, “विदेशमा रहेका नेपाली केवल रेमिट्यान्सको स्रोत मात्र होइनन्, उनीहरू देश निर्माणका साझेदार हुन्,” भन्ने धारणा पनि अघि सारेका छन्।
नयाँ सरकारबाट प्रवासी नेपालीप्रति जिम्मेवार, संवेदनशील र परिणाममुखी नीति अवलम्बन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार