काठमाडौं(जस)–पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । एपीएफको यो लगातार पाँचौं उपाधि हो । लगनखेलस्थित आर्मीको कोर्टमा मंगलबार भएको फाइनल खेलमा एपीएफले आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले आर्मीलाई २५–१४, २९–९, २५–१५ को सोझो सेटमा हराएको थियो । न्युडायमण्ड एकेडेमी तेस्रो भयो । न्युडायमण्डले नेपाल पुलिस क्लबलाई २५–२२, २५–१८, २५–२२ को सोझो सेटमा हराएको थियो ।
उपाधिसँगै एपीएफले दुई लाख रुपैयाँ पुरस्कार पायो । आर्मीले एक लाख रुपैयाँ प्राप्त गर्यो । तेस्रो भएको न्युडायमण्डले ५० हजार रुपैयाँ पायो । एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी भईन् । प्रतियोगिताका विजेता टिम र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, मुक्तिनाथ विकास बैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगायतले पुरस्कार प्रदान गरे ।