तेस्रो चरण सकिदा मनाङ शिर्ष स्थानमा
काठमाडौं(जस)–शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार क्लबले विभागीय शसस्त्र पुलिसको एपीएफ टिमलाई पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा थ्रीस्टारले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको छ । थ्रीस्टारको जितमा अनन्त तामाङले गोल गरेका थिए । तामाङले खेलको १५औ मिनेटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बनेको थियो । थ्रीस्टार क्लबले ३ खेलमा दोस्रो जित हासिल गरेको छ । अहिलेसम्म ३ खेलमा दुई जित र एक बराबरीसहित ७ अंक हासिल गरेको छ भने अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै एपीएफ भने दोस्रो खेलमा पराजित भएको छ । ३ खेलमा २ हार र एक बराबरी खेलेको एपीएफको केवल एक अंक रहेको छ । यो सँगै तेस्रो चरणका खेलहरु सकिदा मनाङ मर्स्याङ्दी क्लब तिनै खेल जितेर शिर्ष स्थानमा छ भने थ्रीस्टार ७ अंकसहित दोस्रो र मछिन्द्र क्लब ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै त्रिभुवन आर्मी क्लबको पनि ६ अंक रहेको छ । अहिलेसम्म सरस्वती युथ क्लब, फ्रेन्ड्स क्लब, एपीएफ र हिमालयन शेर्पाले एक खेलमा पनि जित हासिल गर्न सकेका छैनन् ।