काठमाडौँ(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीले जो सुकै संलग्न भए पनि सरकारी जग्गा फिर्ता ल्याइने दृढता व्यक्त गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा मंगलबार सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बालुवाटारको ललिता निवास र अन्यत्रका सरकारी जग्गा फिर्ता ल्याइने बताएका हुन् ।
उनले भने, “अहिले सरकारी जग्गाका विषयमा सरकार र पार्टीलाई बदनाम गराउन खोजिँदैछ तर यो धेरै पहिलेदेखि भएको कारोवार हो । यसमा हाम्रा पार्टीका महासचिव विष्णु पौडेल त्यसबेला कुनै पदमा नभएकाले सत्ताको दुरुपयोगमा उनको संलग्नता छैन ।” उनले सरकारी जग्गा वा वाइड बडी प्रकरणमा छानबिन भइरहेकाले सत्यतथ्य बाहिर आउने पनि स्पष्ट गरे ।
‘समृद्ध नेपाल, सुखी नेपाली¬’ को राष्ट्रिय आकाङ्क्षाका साथ सरकार अघि बढिरहेकाले नेता, सांसद र कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले आउँदो बजेटमा वृद्धभत्ता बढाइने जानकारी पनि दिए । उनले केही वर्षभित्र गरीबीको रेखामुनि जनता नरहने जिकिर पनि गरे । सङ्घीय संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न उनले सांसदहरुलाई निर्देशन दिए ।
‘जस्तो ठूलो ओहदाको भए पनि कारवाही गरिने’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले भूमाफियासँग मिलेमतो गरेर सरकारी जग्गा अतिक्रमण गर्ने जस्तोसुकै ठूलो ओहदाको भए पनि सरकारले कारवाही गर्ने र सरकारी जग्गा संरक्षण गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले सरकारी जग्गा हिनामिना गरेको प्रमाणित हुनुपर्ने उल्लेख गरे । उनले सरकारी जग्गा हिनामिना गरेको प्रमाणित भएका जोसुकै पनि कानूनी कारवाहीको भागिदार बन्नुपर्नेमा जोड दिए ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको सन्दर्भमा हिनामिना गरेको नभेटिएकाले उनले राजीनामा दिनु आवश्यक नरहेको नेता पौडेलको भनाइ थियो । “विष्णु पौडेलले सरकारी हैसियत प्रयोग गरेर ललिता निवासको जग्गा खरीद गरेको होइन”, उनले भने, “प्रमाण पुगेको अवस्थामा व्यक्तिको अनुहार नहेरी भ्रष्टाचारीलाई कानूनी कारवाही गरेर सरकारले सरकारी जग्गाको संरक्षण गर्नेछ ।”
नेपाली काङ्ग्रेसका नेता मीन विश्वकर्माले नेकपाकै वरिष्ठ नेता जग्गा खरीद प्रकरणमा मुछिएको विचार व्यक्त गर्दै कीर्ते कागज र कीर्ते मोही खडा गरी किनबेचमा संलग्न व्यक्ति दण्ड सजायको भागिदार हुनुपर्ने बताए । राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले ललिता निवासजस्तो ऐतिहासिक जग्गा खरीद प्रकरणमा नेतालाई छुट हुने र सर्वसाधारणलाई मात्र कानून लाग्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।