सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो, नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर

सोमबार, बैशाख १६ २०७६

बेइजिङ(जस)–राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताइएको छ । आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि धन्यवाद व्यक्त गरिन ।
राष्ट्रपति भण्डारीलाई उनका चिनियाँ समकक्षी सीले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका थिए । उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो ।
त्यस्तै दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी पनि दिइएको थियो । राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो । उनले सेनाको एक समूहको अवलोकन पनि गरे । सैनिक सम्मानपछि चिनियाँ बालबालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । चिनियाँ राष्ट्रपति सीले अन्तरराष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गरेको उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।
राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा सोमबार पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिन । स्मारकस्थल पुग्दा उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गरेका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।
जापानका उपप्रमुखको भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरूको एक समूहले भेटवार्ता ग¥यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताइन । उनले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा गरिन ।
उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तीकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्नसक्ने बताए । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर
बेइजिङ(जस)–राष्ट्रपति विद्यादेवी भण्डारी तथा उनका चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि उनहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेङले हस्ताक्षर गरे । त्यस्तै चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानले हस्ताक्षर गरे । आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गरे ।
भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गरे । नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गरे । सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर गरे । उक्त अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार