शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनएको १२औँ महाधिवेशनका लागि कतारमा सदस्यता दर्ता सुरु

शुक्रबार, माघ २ २०८२

दोहा(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनका लागि सदस्यता दर्ता खुला गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सहभागिताका लागि आह्वान गरेको छ । संघका महासचिव विवेक पुलामी मगरले एक सूचना जारी गर्दै आगामी २३ देखि २५ फेब्रुअरी २०२६ सम्म आयोजना हुने महाधिवेशनलाई लक्षित गरी सदस्यता दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका हुन् ।
यस पटकको निर्वाचन र सदस्यता प्रणालीलाई विगतको तुलनामा थप पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नयाँ प्रविधि अवलम्बन गरेको छ । यसअघि प्रयोगमा रहेका हाई लेभल कमिटी पोर्टल, मेम्बर इन्फर्मेसन सिस्टम र विभिन्न देशका राष्ट्रिय परिषद्का पोर्टलहरूलाई एकीकृत गरी अहिले ‘मेम्बर्स रजिष्ट्रेसन सिस्टम’ सञ्चालनमा ल्याइएको छ । यही नयाँ प्रणालीमार्फत विश्वभरका गैरआवासीय नेपालीले आफ्नो विवरण प्रमाणीकरण गर्ने र नयाँ सदस्यता लिने व्यवस्था मिलाइएको छ ।
कतारमा कार्यरत रहेका र अहिलेसम्म सदस्यता लिन छुटेका गैरआवासीय नेपालीहरूले आगामी १६ जनवरी २०२६ भित्र अनिवार्य रूपमा सदस्यता दर्ता गरिसक्नुपर्ने सूचनामा उल्लेख छ । सदस्यता दर्ताका लागि मोबाइल प्रयोगकर्ताले एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध एप प्रयोग गर्न सक्नेछन् । तोकिएको समयभित्र सदस्यता दर्ता गरेमा मात्र १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन र निर्वाचनमा सहभागी हुन पाइने सुनिश्चितता गरिएको छ । महासचिव मगरले कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुख, अभियन्ता, व्यवसायी, कलाकार, पत्रकारलगायतलाई यो अवसर नगुमाउन आग्रह गरेका छन् । आपसी एकता र सहकार्यमार्फत ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन अपिल गर्दै संघले कतारमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीको सक्रिय सहभागिताको अपेक्षा समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार