सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परिमार्जन गर्दा ‘खस आर्य महिला’ समूहअन्तर्गत क्रमसंख्या ४ मा कर्णाली प्रदेशबाट समावेश पञ्चा सिंहको नाम सूचीबाट हटाएको छ ।
गत पुस १४ गते निर्वाचन आयोगमा पेस गरिएको बन्दसूचीमा सिंहको नाम समावेश गरिएको भए पनि पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन तथा एकता प्रक्रियामा सामेल भएका अन्य राजनीतिक घटकहरूको समुचित व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण सूची परिमार्जन गरिएको पार्टीले जनाएको छ ।
पार्टीको संगठनात्मक निर्णय तथा आवश्यकताअनुसार परिमार्जित सूची पुनः निर्वाचन आयोगमा पेस गर्ने क्रममा आफ्नो नाम हटाइएको जानकारी सिंहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन् । उक्त प्रक्रिया पार्टीकै तर्फबाट आधिकारिक रूपमा सहजीकरण गरिएको हुँदा आफू स्वयं निर्वाचन आयोगमा उपस्थित हुन नपरेको समेत उनले स्पष्ट पारेकी छन् ।
राजनीति व्यक्तिगत अवसर प्राप्तिको माध्यम मात्र नभई त्याग, निष्ठा र जनसेवाको कठिन मार्ग भएको उल्लेख गर्दै सिंहले पार्टीको बृहत्तर हित र संगठनात्मक आवश्यकताका अगाडि व्यक्तिगत पद र प्रतिष्ठा गौण हुने धारणा फेसबुकमार्फत व्यक्त गरेकी छन् ।