मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

‘वनफूलको विद्रोह’ कविता सङ्ग्रहमाथि विमर्श

आइतबार, पुष २० २०८२

कर्णाली, २० पुसः कवयित्री निरञ्जना चन्द (निरु) द्वारा लिखित कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’माथि विमर्श गरिएको छ । सिम्ताली एकता समाज सुर्खेतले शनिबार सुर्खेत वीरेन्द्रगनरमा आयोजित विमर्श कार्यक्रममा कविता सङ्ग्रहमाथि मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापकद्वय डा रेशम विष्ट र वासुदेव पाण्डेयले समीक्षा गर्नुभयो ।

कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’माथि समीक्षा गर्दै डा विष्टले शब्द, शैली, विषयवस्तु र शील्पकलाका हिसाबले गद्य शैलीमा लेखिएको कविताले नारी चेत, सामाजिक समस्या, त्यसका भोगाइसँग अन्तरसम्बन्धित विषयवस्तु र वर्गीय समाजमा उत्पीडित वर्गहरूको आवाजको प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँले बहुरुपी विषयवस्तु समेटिएको कविता सङ्ग्रह सामाजिक क्रान्तिको द्योतक भएको जिकिर गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक तथा वरिष्ठ साहित्यकार वासुदेव पाण्डेयले राउटे सुन्दरीलाई विम्बका रूपमा ‘वनफूलको विद्रोह’ उतार्न खोजिएको टिप्पणी गर्नुभयो । मानवीय संवेदनाका ज्वारभाटाहरु छचल्किएको कवितामा विद्रोही आत्माको चेतहरु अभिव्यक्त भएको उहाँको भनाइ थियो । बहुसङ्ख्यक कविताका शीर्षकहरु नारीवादी भएको बताउँदै उहाँले समाजका संस्कार, परम्परा र प्रथाहरूबारे पनि उल्लेख गरिएको जनाउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार एवं साहित्यकार डा महेन्द्र मल्लले कविता नारीवादीजस्तो देखिए पनि एउटा पुरुष कति जिम्मेवारीको बोझले च्यापिएको हुन्छ र उसले पीडामा पनि आँसु देखाउन नसकेको यथार्थतालाई कविताका माध्यमबाट अभिव्यक्त गरिएको बताउनुभयो । समाजमा अभाव, सङ्कट र समस्याहरू उत्पन्न भएसँगै कवयित्री निरुजस्ता स्रष्टाहरु पनि जन्मँदै जाने तर्क गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्काले आफ्नो सृजनाबाट कवयित्री निरञ्जना चन्द (निरु) ले कर्णालीलाई मुलुकभर चिनाउन विशेष योगदना पुर्याएको बताउनुभयो । कविता सङ्ग्रहमा उहाँका ६१ कविता रहेका छन् । जुन कविता सङ्ग्रहमा समाजमा विद्यमान सबैखाले भावना, सोच, विचार, चिन्तन, भोगाइ, समस्या र चुनौतीबारे उल्लेख गरिएको छ ।

त्यस्तै, उक्त सङ्ग्रहमा मानवीय संवेदनाका ज्वारभाटाहरु छचल्किएका छन् । कविताले विशेषगरी महिला संवेदना, सामाजिक असमानता र किनारामा पारिएका वर्गको पीडालाई सशक्त र मार्मिक शैलीमा उतारेको छ । त्यसको साथै यसले नकरात्मक नभई आत्मअस्तित्वको खोजी र स्वतन्त्रताको उद्घोष गरेको छ । यसले स्त्री चेतना, प्रकृति प्रेम र सामाजिक परिवर्तनका बारेमा समेत बोलेको छ ।

कवयित्री निरञ्जनाले समाजको यथार्थलाई अध्ययन गरिएका कुरा पानामा उतार्दा र त्यसलाई अभिव्यक्त गर्दै जाँदा प्राप्त गरेको हौसलाले आफूसहित माटोलाई चिनाउने अवसर प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार मान्छेले भोगेका कष्ट, कहर, अन्याय, थिचोमिचो अनि जीवन विरोधी शृङ्खलाका प्रतिवादमा व्यङ्ग्य, विरोध, आक्रोश र सङ्घर्षको गर्जनमात्र नभई प्रकृति र सामाजिक परिवर्तनसँग सम्बन्धित विषयवस्तुहरू पनि कविता सङ्ग्रहमा समेटिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार