आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की

शुक्रबार, पुष १८ २०८२

विराटनगर, १८ पुसः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीर्घकालसम्म हुनेगरी सडक पूर्वाधार निर्माण बनाउनुपर्ने बताउनुभएको छ । सिमेन्ट उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सानासाना कुरामा लोभ नगरेर बलियो र टिकाउ हुने पूर्वाधार बनाउन ध्यान दिनुपर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले जेठ लागेपछि कालोपत्र बनाउन थाल्ने र असार नलाग्दै भत्किनेभन्दा सिमेन्टको प्रयोगले लामो समयसम्म टिक्ने सडक पूर्वाधार बनाउने विषयमा नीतिगत रूपमै सोच्नुपर्ने जोड दिनुभयो । उहाँले भन्नुभयो, “जेठमा बनाउने असारमा भत्किने होइन । अब समयमै काम गर्ने र समयमै सिद्धिने गरी काम गर्नुपर्छ ।आफ्नै कच्चापदार्थको प्रयोग गरी दीगो पूर्वाधारमा ध्यान दिन आवश्यक छ ।”
प्रदेश सरकारले प्रदेशकै कच्चापदार्थ उपयोग गर्नेगरी नीति ल्याउने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले कर्मचारीले आफ्नो पोशाक स्थानीय उत्पादन नै प्रयोग गर्ने विषयमा पनि तयारी गरिएको बताउनुभयो ।
कार्यक्रममा सिमेन्टको प्रयोगबाट निर्माण हुने सडकको टिकाउ र दीर्घकालीन फाइदाका विषयमा नेपाल सरकारका पूर्वसचिव अर्जुनजङ्ग थापाले प्रस्तुति गर्नुभएको थियो । नेपालमा करिब ६५ वटा सिमेन्ट उद्योग भएको र क्रमशः सिमेन्टमा निर्भर हुँदै विदेश निर्यात गर्ने अवस्थामा पुगिसकेकाले यसको स्वदेशमा खपत गरेर लाभ लिनुपर्ने उहाँको भनाइ थियो ।
सिमेन्ट उद्योग सङ्घका निवर्तमान अध्यक्ष ध्रुव थापाले सिमेन्ट प्रयोग गर्दा संरचना कसरी टिकाउ र बलियो हुन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार