आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

युवा, ‘नयाँ शक्ति’ र पुरानै राजनीतिक शैली : समस्या उमेरमा होइन, चेतना र प्रणालीमा।

शनिबार, पुष १२ २०८२

 

हाइलाइट  | लेखका मुख्य निष्कर्ष
• देश निर्माण उमेरले होइन, चेतना, संस्कार र अनुभवले सम्भव हुन्छ।
• ‘नयाँ शक्ति’ भनिएका समूहहरू पनि क्रमशः पुरानै सत्ता–केन्द्रित शैलीतर्फ उन्मुख देखिएका छन्।
• विश्वका अधिकांश शक्तिशाली र समृद्ध राष्ट्रहरूको नेतृत्व साठी वर्षमाथिका अनुभवी व्यक्तिहरूले गरिरहेका छन्।
• युवामा क्षमता अवश्य हुन्छ, तर असाधारण नेतृत्व क्षमता बिरलै देखिन्छ।
• राजनीति नै पेशा बनाउँदा भ्रष्टाचार स्वाभाविक रूपमा जन्मिन्छ।
• समस्या केवल नेतामा होइन, खर्चिलो चुनावी प्रणाली र मतदाता संस्कृतिमा पनि छ।
• युवाको मुख्य भूमिका सत्ता कब्जा होइन, संस्थागत सुधार र जिम्मेवार खबरदारी हो।

नेपालको वर्तमान राजनीतिक अवस्थालाई नियाल्दा एउटा गम्भीर प्रश्न स्वाभाविक रूपमा उठ्छ—देश निर्माण उमेरले सम्भव हुन्छ कि चेतना, संस्कार र अनुभवले? पछिल्ला वर्षहरूमा “युवा नेतृत्व”, “नयाँ शक्ति” र “पुराना विस्थापित” भन्ने भाष्य अत्यन्त लोकप्रिय बनेको छ। तर व्यवहारिक धरातलमा हेर्दा पुरानो र नयाँ भनिने राजनीतिक अभ्यासबीच मौलिक भिन्नता देखिन छाडेको छ। अनुहार फेरिए पनि शैली उस्तै छ, प्रवृत्ति उस्तै छ र सत्ता केन्द्रित सोच पनि उस्तै देखिन्छ।

देश चलाउन केवल जोश, आवेग र शारीरिक बल पर्याप्त हुँदैन। श्रम, शारीरिक मेहनत र पाखुराको शक्ति खेती, उद्योग र निर्माण क्षेत्रमा आवश्यक पर्छ; तर राजनीति, कूटनीति र परराष्ट्र नीतिको क्षेत्रमा संयम, धैर्य, गहिरो अध्ययन र दीर्घ अनुभव अपरिहार्य हुन्छ। भावना र जोसले भाषण त प्रभावशाली बनाउन सक्छ, तर राष्ट्रको दीर्घकालीन दिशा तय गर्न सक्दैन। यही यथार्थका कारण विश्वका अधिकांश प्रभावशाली राष्ट्रहरूको नेतृत्व पचपन्न साठी वर्षमाथिका अनुभवी व्यक्तिहरूको हातमा देखिन्छ।

विश्वका शक्तिशाली तथा समृद्ध राष्ट्रहरूको नेतृत्वमा रहेका अधिकांश व्यक्तिहरू उमेरले प्रौढ, अनुभवले खारिएका र संस्थागत स्मृतिसँग परिचित छन्। यसले स्पष्ट गर्छ कि उमेरभन्दा अनुभव, निरन्तरता र निर्णय क्षमताको भूमिका बढी निर्णायक हुन्छ। यसको अर्थ युवामा क्षमता हुँदैन भन्ने होइन। युवामा नेतृत्व क्षमता अवश्य हुन्छ, तर त्यो संख्या अत्यन्त सीमित हुन्छ , एक वा दुई प्रतिशतमा मात्र।

विश्व इतिहासमा चालीस वर्षमुनि नै राष्ट्रको नेतृत्व सम्हाल्न सफल व्यक्तिहरू औंलामा गन्न सकिने मात्र छन्। त्यसैले सबै युवालाई स्वतः योग्य र सबै वृद्धलाई अयोग्य ठान्ने सोच भावनात्मक भए पनि यथार्थपरक छैन। युवावस्था आफैंमा अत्यन्त जिम्मेवारीपूर्ण काल हो। यो उमेरमा व्यक्तिले आफ्नो मात्र होइन, आफूलाई जन्म दिने आमाबाबु, समाज र भविष्यप्रतिको दायित्व पनि पूरा गर्नुपर्छ। अध्ययन, सीप विकास, रोजगारी र आर्थिक आत्मनिर्भरता; यी आधार निर्माण नगरी केवल नाराको भरमा राजनीतिमा होमिनु दीर्घकालमा व्यक्ति र राष्ट्र दुवैका लागि घातक हुन्छ। राजनीति नै जीविकोपार्जनको एकमात्र साधन बनाउँदा भ्रष्टाचार स्वाभाविक रूपमा जन्मिन्छ। जब जीवन चलाउने अन्य आधार हुँदैन, तब सत्ता कमाइको माध्यम बन्छ।

आज ‘नयाँ शक्ति’ भनेर बालेन, रवि, निकोलस, सुदन, कुलमानजस्ता व्यक्तित्वहरूको मात्र प्रशंसा गर्ने प्रवृत्ति बढेको छ। तर इतिहासलाई बिर्सनु हुँदैन। हिजो देउवा, ओली, प्रचण्ड र बाबुराम पनि यही उमेरका थिए पञ्चायतविरोधी आन्दोलन र ६२/६३ को जनआन्दोलनका समयमा। त्यो बेला उनीहरू पनि आशाका केन्द्र नै थिए। त्यसैले समस्या उमेर वा नयाँपनमा होइन, समयसँगै विकसित हुने प्रवृत्ति, शक्ति मोह र कमजोर प्रणालीमा छ। नया शक्ति भनिरहदा नया शक्ति कुनै सिद्धान्तबाट निर्देशित देखिन्दैन, जस्ले आधिकारिकता र जिम्मेवारी देखिन्न। बिकास, भ्रष्टाचार बिहिनताको नारा रटि रहदा सो प्राप्त कसरी गर्ने र कुन नीति बाट दिशा तय गर्ने भन्ने अन्योलता देखिएको अवस्थामा भोलि सत्तामा नै गए पनि लेफ्टिस्ट , राइटिस्ट लगायतको खेलमा झेलिदै जाने देखिन्छ र बदलिदो जटिल भु राजनितिको भड्कालोमा फस्ने सम्भावना बढ्ने छ। यसको निदान जोस हैन बिवेक हुन जरुरी छ।

युवा प्रष्ट हुनुपर्छ, स्वतन्त्र विचारको हुनुपर्छ र निष्पक्ष हुनुपर्छ। एमाले, कांग्रेस, माओवादी वा राप्रपा कुनै पनि दल सिद्धान्ततः गलत छैनन्। सबै दलका आफ्ना सुन्दर दर्शन र राजनीतिक आधार छन्। समस्या सुरु हुन्छ नेतृत्व र तिनका आसेपासेले देखाउने व्यवहारबाट। अझ गहिरो समस्या त मतदाता स्वयंबाट सुरु हुन्छ। आज खर्चबिना चुनाव सम्भव छैन। नेताले घर लिलाम राखेर चुनाव लड्दा , पछि त्यो घर फिर्ता उठाउन सामान्य तलबले सम्भव हुँदैन। यही बाध्यताले नेताहरूलाई भ्रष्टाचारतर्फ धकेल्छ। त्यसैले भ्रष्टाचारको जिम्मेवारी केवल नेतामाथि मात्र थोपर्न मिल्दैन; प्रणाली र त्यसलाई स्वीकार गर्ने समाज पनि बराबर उत्तरदायी हुन्छ।

वास्तविक परिवर्तन नेतृत्व फेरिएर मात्र हुँदैन। कर्मचारी, शिक्षक र प्रशासनिक संयन्त्रमा सुधार अत्यावश्यक छ। दलगत आबद्धता र भ्रष्टाचारका कारण उनीहरू पेशागत जिम्मेवारीभन्दा बाहिर लाग्दा राज्य संरचना कमजोर हुन्छ। उद्योगीहरू पार्टीलाई चन्दा दिन बाध्य हुन्छन्, र त्यो चन्दा उठाउने नाममा नीतिगत विकृति फैलिन्छ। समस्या व्यक्ति होइन, प्रणाली हो। तर प्रणाली परिवर्तनको नारा बोकेर आएका नयाँ भनिएका शक्तिहरू पनि अन्ततः पद बाँडफाँट र शक्ति सन्तुलनमै अल्झिँदा “देशका लागि त्याग” भन्ने शब्द भावनात्मक भाषण र भ्रम मात्र बनेको छ।

यति सानो देशमा सयौं दल खुल्नुको मुख्य कारण पनि नेतृत्व मोह नै हो। सबैलाई नेता बन्ने हतार छ, तर संस्था निर्माण गर्ने धैर्य छैन। आजको जेन–जि आन्दोलन, सामाजिक सञ्जालमा देखिने लाखौं टिप्पणी र सामग्रीहरू निराशा, आक्रोश र पुरानाप्रतिको घृणाले भरिएका छन्। पचासभन्दा बढी समूह बनाएर हजारौं युवा विभिन्न राजनीतिक मञ्च खोजिरहेका छन्। तर सोच्नुपर्ने प्रश्न के हो भने यी लाखौं युवाले देशको समृद्धिका लागि दिन सक्ने समय कहाँ खर्च भइरहेको छ?

प्रविधि विकास, आविष्कार, कृषि उत्पादन, औद्योगिकीकरण र उद्यमशीलतामा लगानी हुनुपर्ने ऊर्जा आन्दोलन, मोर्चाबन्दी र सत्ता–केन्द्रित गतिविधिमा सकिँदैछ। नीति गलत छैन, तर कार्यपद्धति गलत छ। युवाले खबरदारी गर्नुपर्छ, तर त्यो घरबाट सुरु हुनुपर्छ। सक्षम र इमानदार नेतृत्वलाई लोभ–लालच बिना जिम्मेवार बनाइराख्नुपर्छ। आफूले केही नलिई योग्य व्यक्तिलाई नेतृत्वमा पठाउने संस्कार विकास गर्नुपर्छ।

अध्ययन गर्ने, सरकारी निकायमा प्रवेश गर्ने, त्यहीँबाट सुधार ल्याउने, नीति निर्माणको तहसम्म पुग्ने र आफ्नै संस्थालाई परिमार्जन गर्ने आदि यही दीर्घकालीन समाधान हो। राजनीतिमा हस्तक्षेप आवश्यक छ, तर जीवनकै सबैभन्दा उत्पादनशील उमेर बिग्रँदो राजनीतिक खेलमा होमिएर देश झन् कमजोर बनाउनु बुद्धिमानी होइन। देश बनाउने काम नाराले होइन, संस्थागत सुधार, अनुशासन, अनुभव र संयमले हुन्छ। जबसम्म युवा यो यथार्थ बुझ्दैनन्, तबसम्म ‘नयाँ’ भनिएका शक्तिहरू पनि पुरानै शैलीमा सीमित भइरहनेछन्, र देश उही चक्रमा घुमिरहनेछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार