काठमाडौँ(जस)–तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिए । उनीहरुले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उनले जानकारी दिए । “व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ”, प्रहरी नायब उपरीक्षक कार्कीले भने ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो । स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ । विष्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । डिएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै विष्फोट भएको जानकारी दिए ।
स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले झोला चलाएकाले विष्फोट भएको भनेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारको भने उनले खण्डन गर्दै प्रहरीले बम छोएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । प्रनाउ कार्कीले भने, “घटनास्थल पुगेपछि एकपटक मलाई रिपोर्ट गरे, मैँले ठाउँ सुरक्षित राख्न निर्देशन दिएँ, अर्काे पटक फोन गर्दा घटना भइसकेको खबर पाएँ ।” उनले घटनास्थलमा मानिसहरु जम्मा भइसकेकाले प्रहरीले हटाउँदै गर्दा विष्फोट भएको जिकिर गर्दै प्रहरीले मानिस नहटाएको भए अझ धेरै मानवीय क्षति हुन जान्थ्यो होला भने ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बमभित्र फलामका टुक्रा (किला) समेत राखेर पड्काएको पाइएको जानकारी दिए । उनले भने, “प्रकृति हेर्दा मोबाइलबाट रिमोर्ट कन्ट्रोल गरी विष्फोट गराइएको छ ।” उनले विष्फोट हुनु अघि परिवारलेसमेत पोको खोलेको स्थानीयको भनाइ उद्धत गर्दै बताए । उनले पनि प्रहरीले पोको नछोएको जिकिर गरे । शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको जनाइएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
उक्त घटना आततायी भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने प्रतिबद्धता जनाइसकेका छन् । यसअघि गत जेठ १२ गते राजधानीको सुकेधारा र घट्टेकुलोमा मानवीय क्षति हुनेगरी चन्द समूहले बम विस्फोट गराएको थियो । विष्फोटमा तीन जनाको मृत्यु भएको थियो । सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो । उक्त घटनामा बम बनाउँदै गरेका उक्त समूहका सदस्य नै मारिएका थिए । सुकेधारामा विस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको थियो ।
गत फागुन १० गते राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि चन्द समूहले नै बम विष्फोट गराएको थियो । विष्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उषा मानन्धर घाइते भएका थिए । उक्त घटनामा संलग्नहरु पक्राउ परिसकेका छन् । विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयाँै नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउँदै आएको छ ।
निरीक्षक दाहालको आर्यघाटमा दाहसंस्कार
काठमाडौं । ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक स्व. अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स–सम्मान दाहसंस्कार गरिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले स्व. दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा स्व. दाहालका परिवारजन एवं आफन्तजनले समेत स्व. दाहालको पार्थिव शरीरमा फूलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रहरी निरीक्षक स्व. दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । स्व. दाहालको पार्थिव शरीरमा उनका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिएका थिए । धनुषा क्षिरेश्वरनाथ नगरपालिका(५ कुचियाही टोलमा गएराति शंकास्पद वस्तु विष्फोटन हुँदा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । संखुवासभामा जन्मिएका प्रहरी निरीक्षक दाहाल हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका(८ कृष्णनगरमा बस्दै आएका थिए ।
वि.सं. २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका स्व. दाहाल वि.सं. २०६० असोज ९ गते प्रहरी नायव निरीक्षक तथा वि.सं. २०७५ बैशाख १९ गते प्रहरी निरीक्षक पदमा पदोन्नति भएका थिए । स्व. दाहालका बुवा, आमा, श्रीमती र एक छोरा छन् । प्रहरी निरीक्षक स्व. दाहाल २०७६ साउन ८ गतेदेखि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत रहेका थिए ।
अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ(जस)–गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताएका छन् । घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको जनाएका छन् । “यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु”, फेसबुकमार्फत उनले भनेका छन् ।
“धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ, मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”, गृहमन्त्री थापाले भनेका छन् ।
स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि ज्यान गएको थियो ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij