बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

जसपा नेपाल कपिलवस्तुद्वारा तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस

शुक्रबार, पुष ४ २०८२

इमरान खान

कपिलवस्तु ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल कपिलवस्तुले आउँदो संघीय निर्वाचनका लागि कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ । तौलिहवामा सम्पन्न जिल्ला स्तरीय बैठकले निर्वाचन क्षेत्र नं १, २ र ३ का लागि पार्टीका प्रभावशाली र अनुभवी नेताहरूको नाम सिफारिस गरेको हो ।

जिल्ला सचिव शिवलाल यादवका अनुसार कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट जसपा नेपालका केन्द्रीय सदस्य अब्दुल रसिद खाँ, जिल्ला अध्यक्ष शैलेन्द्र यादव र पार्टी नेता भगवानदास यादवको नाम सिफारिस गरिएको छ । त्यसैगरी कपिलवस्तु निर्वाचन क्षेत्र नं २ बाट कपिलवस्तु नगरपालिकाका मेयर तथा जसपा नेपालका केन्द्रीय सदस्य सुदीप पौडेल र पार्टीका सल्लाहकार रामनिवास यादवको नाम सिफारिस गरिएको छ । त्यसैगरी कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ बाट भने जसपा नेपालका पुराना नेता रामवरण यादव, लुम्बिनी प्रदेशका मुख्य सचिव शिवपुजन यादव तथा केन्द्रीय सदस्य सवित्रा वि.क. को नाम सिफारिस गरिएको सचिव यादवले जानकारी दिनुभयो ।

नाम सिफारिसपछि प्रतिक्रिया दिँदै निर्वाचन क्षेत्र नं २ बाट सिफारिस भएका कपिलवस्तु नगरपालिकाका मेयर तथा केन्द्रीय सदस्य सुदीप पौडेलले पार्टीले दिएको जुनसुकै जिम्मेवारी पनि पूर्ण निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीले मूल्यांकन गरेर टिकट दिए संघीय निर्वाचनमा चुनाव लड्ने स्पष्ट मनसाय रहेको समेत उहाँले बताउनुभयो ।

यस्तै, निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएका केन्द्रीय सदस्य अब्दुल रसिद खाँले यसपटक जसपा नेपाल उम्मेदवार मात्रै नभई चुनाव जित्ने ठोस योजनाका साथ मैदानमा उत्रिने दाबी गर्नुभयो । उहाँका अनुसार २०७४ सालको निर्वाचनमा सो क्षेत्रमा जसपा नेपालले राम्रो मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको थियो र यसपटक परिणाम बदल्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार