शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारमा हुने ठगी रोक्न सरकारको नयाँ कदम, श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने

मंगलबार, पुष १ २०८२

काठमाडौ(जस)–वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउने सन्र्दभमा मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै सचिव डा कृष्णहरि पुस्करले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याइने जानकारी दिए । उक्त सेल यही पुस ८ गतेदेखि सञ्चालनमा आउने उनले प्रष्ट पारे ।
पछिल्लो समय सामाजिक सञ्जाल, फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्ममा राखिएका भ्रामक सूचनाबाट प्रभावित भई वैदेशिक रोजगारमा ठगिने खतरा बढ्दै गएको उल्लेख गर्दै सचिव डा पुस्करले श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित वातावरण निर्माण गर्न यो प्रणाली सुरु गर्न लागिएको बताए । सचिव डा पुस्करका अनुसार ‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगानालगायतका वैदेशीक रोजगारसँग सम्बन्धीत आवश्यक जानकारी समेटिएको हुनेछ ।
्सचिव पुस्करका अनुसार सातै प्रदेशका श्रम कार्यालय, ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो । “वैदेशिक रोजगारमा जान चाहने जुनसुकै श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार माने धेरै ठगी हुनबाट बच्न सकिन्छ”, उनले भने, “डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगाउनु हाम्रो प्रयास हो ।” सामाजिक सञ्जालमार्फत पैसाको लोभ देखाएर विदेश पठाइदिने भ्रामक आधारविहीन प्रचार गर्नेका पछि नलाग्न उनले आग्रह गरे ।
अन्तरराष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाइँदै
रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबारदेखि सप्ताहव्यापी रूपमा अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरेको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सचिव डा कृष्णहरि पुस्करले हरेक वर्ष डिसेम्बर १८ मा मनाइने अन्तरराष्ट्रिय आप्रवासन दिवस यस वर्ष नेपालमा पनि सप्ताहव्यापी रूपमा मनाउन लागिएको जानकारी दिए । उनले विभिन्न रचनात्मक र सन्देशमूलक गतिविधि गरेर दिवसलाई अर्थपूर्ण बनाइने बताऐ । यसै क्रममा मङ्गलबार पत्रकार सम्मेलन र पत्रकारबीच वैदेशिक रोजगार र आप्रवासनका विषयमा छलफल भएको छ । बिहीबार मुख्य दिवस मनाइनुुका साथै ७ गतेसम्म निरन्तर गतिविधि सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस वर्ष ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भनेर दिवसको राष्ट्रियस्तरको नारा तय गरिएको छ । मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले दिवसलाई प्रभावकारी रूपमा मनाउन सरोकार भएका सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार संस्था तथा सम्बन्धित सङ्घ, संस्थाहरूको सहभागितामा विभिन्न कार्यक्रम गर्ने कायैसूची रहेको बताए । कार्यक्रमको समन्वय तथा व्यवस्थापनका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा मूल समारोह कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा मन्त्रालयअन्तर्गतका निकाय, बोर्ड तथा कोष, विकास साझेदार संस्था तथा सरोकार भएका सरकारी तथा गैरसरकारी सङ्घ, संस्थाको प्रतिनिधित्व रहेको छ ।
दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगहरू, प्रदेश र स्थानीय तहलाई विभिन्न सचेतनामूलक, अन्तरक्रियात्मक तथा सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्नको लागि पत्राचार गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । सप्ताहभरि सचिवस्तरीय सन्देशहरू सामाजिक सञ्जालमार्फत प्रवाह गरिनुका साथै पत्रकारहरूसँग अन्तरक्रिया, रक्तदान तथा स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता, वाकाथन, अन्तरक्रिया कार्यक्रम, वादविवाद प्रतियोगिता, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सन्देशमूलक सामग्री वितरणलगायत विविध कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार