शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास

आइतबार, मंसिर ७ २०८२

विराटनगर । नेकपा (एमाले_ का नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास भएको छ । आइतबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतमाथि विमानस्थलबाहिर आक्रमणको प्रयास भएको हो ।

उनी सवार गाडी लक्षित गर्दै रातो मसी फ्याँकिएको थियो । त्यसलगत्तै बस्नेतविरुद्ध नाराबाजी गरिएको थियो ।

सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै बस्नेतको भ्रमणलाई पार्टी र सुरक्षा निकायले गोप्य राखेका थिए । विराटनगर विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा घेरामा राखिएको थियो ।

सुरक्षा संवेदनशीलताका कारण उनलाई सर्वसाधारण यात्रु निस्कने निकासद्वारबाटै सुरक्षाकर्मीको स्कर्टिङमा गन्तव्यतर्फ लगिएको थियो । तर, सुरक्षा निकायको ‘हाई अलर्ट’ र गोप्य प्रबन्धकाबीच पनि उनीमाथि आक्रमणको प्रयास भएको हो ।

नेता बस्नेत राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशले इटहरीमा आयोजना गरेको ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद’ कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर आएका हुन् । उनीसँगै एमाले नेता भानुभक्त ढकाल पनि विराटनगर आएका छन् ।

महेश बस्नेतले पनि आफ्नो गाडीमा रातो मसी फ्याँकिएको स्वीकार गरेका छन् । ‘एयरपोर्टबाट निस्किँदा दुई जना केटाले बेलुनमा पानी र अबिर भरेर लुकेर हानेका थिए’, बस्नेतले भने, ‘पछि पुलिसले समायो । हामी चाहिँ हिँड्यौं ।’

कार्यक्रममा जान अवरोध पुर्‍याउन खोजिएको भन्दै बस्नेतले यसलाई ‘लोकतन्त्रमाथिको उपहास’ भनेका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार