शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

सोमबार, मंसिर १६ २०७६

पोखरा (जस)–पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्र्तगत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी शुरुआत गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जीत निकालेको हो । टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । सात रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौथो, पाँचौँ, छैटौँ र सातौँ तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले नौ तथा हाफ्सा अब्दुल्लाले चार रन जोडिन । बाँकी सबै खेलाडी शून्यमै आउट भए । नेपालले अतिरिक्त तीन रन दिएको थियो ।
जीतका लागि १७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार ग¥यो । मात्रै पाँच बलको सामना गरेकी काजल श्रेष्ठले तीन चौका प्रहार गर्दै अविजित १३ रन जोडिन । पाँच बल फालेकी माल्दिभ्सका बलर समा अलीले चार अतिरिक्त रन दिएपछि ‘ननस्ट्राइक’मा रहेकी सीता मगरले एक बल पनि सामना गर्नुपरेन । दुई दशमलव एक ओभरमा दुई मेडनसहित बिना रन ६ विकेट लिएकी अञ्जली चन्द ‘वुमन अफ दी म्याच’ भइन । करुणा भण्डारीले दुई ओभरमा दुई विकेट लिइन । उनले उनले एक मेडन राख्दै चार रन खर्चिएकी थिइन ।
जीतपछि नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुआत गर्न सकेकामा खुशी लागेको सुनाइन । यही प्रतियोगिताका लागि आफूहरूले लामो समयदेखि मेहनत गरेको बताउँदै उनले नेपाली महिला क्रिकेट टोलीले केही गरी देखाउने अवसरका रूपमा यो प्रतियोगितालाई लिएको बताइन । माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टोली भएको धारणा राखिन । पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसके पनि यस प्रतियोगितालाई आफूहरूले अनुभव बटुल्ने अवसरका रूपमा लिएको उनले बताइन । प्रतियोगिताअन्तर्गत मङ्गलबार श्रीलङ्का र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
एकै खेलमा चार कीर्तिमान
माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिइन । यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले जिकिर गरे । त्यस्तै माल्दिभ्सका नौ खेलाडी शून्य रनमै आउट भएको पनि अर्को कीर्तिमान भएको टमटाको जिकिर छ । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै पाँच बलमा जीत हासिल गर्नु पनि अर्को कीर्तिमान भएको उनको दाबी छ ।
यसअघि नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले दुवै टोलीका खेलाडीसँग हात मिलाउँदै शुभकामना दिएका थिए । कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुलगायतले क्रिकेटका सम्बन्धमा बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार