शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

केपी ओलीसहित ५ जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट

मंगलबार, कार्तिक ११ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको राहदानी (पासपोर्ट) रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

आज अधिवक्ता प्रेमराज सिलवालले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोकेकोविरुद्ध रिट दायर गरेका हुन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले राहदानी रोक्का र स्थान हदको निर्णय गरेको थियो।

मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन्।

उक्त निर्णय गैरकानुनी भएको, सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको भन्दै रिट दायर भएको छ। रिटमा उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेश माग गरिएको छ। यो रिट सर्वोच्च प्रशासनले अध्ययनकै क्रममा रहेको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार