मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

राष्ट्रपति भण्डारी बेइजिङमा, दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल’मा सहभागी हुने

शुक्रबार, बैशाख १३ २०७६

बइेजिङ(जस)– राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बिहिबार सान्सी प्रान्तबाट राजधानी बेजिङ आइपुगेकी छन् । उनलाई बेइजिङ अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ पराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ सुयानयु तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची र बेइजिङस्थित नेपाली राजदूतावासका कर्मचारीले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल’ कोअपरेशन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी हुने छिन् । उनले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका छन् ।
राष्ट्रपति भण्डारी र सान्सी प्रान्तका गभर्नर गुओचुङबीच भेटवार्ता
सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा बुद्धधर्मप्रति आस्था राख्ने सबैसँग प्रत्यक्ष सम्बन्ध राखी उनीहरुलाई एकपटक लुम्बिनीको भ्रमण गर्ने अवसर प्राप्त होस् भनी अन्तरराष्ट्रिय विमानस्थल तथा होटेलजस्ता पूर्वाधार विकास गर्न नेपाल सरकारले प्रयास गरिरहेको बताएकी छन् । चीनको सान्सी प्रान्तका गभर्नर लियु गुओचुङ्ससँग बिहीबार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लुम्बिनी र सियानबीच सोझो हवाई सम्पर्कमा खासै समय नलाग्ने भएकाले वर्तमान उडानको समय घटाउन सकिने धारणा व्यक्त गरेकी हुन् । उनले इतिहासमा चिनियाँ रेशममार्ग नेपालबाट पनि गएकाले यसलाई चिनियाँ नयाँ संस्करण ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’सँग जोड्नुपर्ने बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले चिनियाँ विद्वान् हुएन साङका विषयमा नेपालमा धेरै अध्ययन भएको र उनको अध्ययनमा पनि नेपालका विषयमा धेरै उल्लेख भएको बताउँदै आफूले आज बिहानै सो विषयमा धेरै कुरा जानकारी प्राप्त गरेको बताईन । उनले भनिन, ‘चीनले गरेको प्रगतिलाई नेपालले सधैँ प्रशंसा गरेको छ, एक चीन नीतिलाई सधैँ समर्थन गरेको छ ।’ उनले सान्सी प्रान्तका गभर्नर गुओचुङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिईन । भेटवार्तामा गभर्नर गुओचुङले राष्ट्रपति भण्डारीले आफ्नो राजकीय भ्रमण सान्सीबाट आरम्भ गरेकामा खुशी व्यक्त गर्दै काठमाडौँ र सान्सीबीच निकै अगाडि भगिनी सम्बन्ध स्थापना भएको उल्लेख गरे । उनले सान्सीले नेपालसँगको सहकार्य सम्बन्ध बलियो बनाउन चाहेको बताउँदै नेपाली मित्रलाई सधैँ स्वागत गरिने स्पष्ट गरे ।

 


उनले नेपालमा चिनियाँ लगानीलाई प्रोत्साहन गरिएको र जनस्तरमा पनि दुई मुलुकबीच व्यापार सम्बन्ध विस्तार हुँदै गएको बताए । उनले नेपाल र सान्सीको वातावरण समान रहेको उल्लेख गर्दै नेपाली जनताले पनि सान्सीको स्याउ मन पराएको बताए । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारी तथा सान्सी प्रान्तका सरकारी अधिकारीको सहभागिता थियो । भेटवार्तापछि राष्ट्रपति भण्डारी सान्सी प्रान्तका गभर्नर गुओचुङले आयोजना गरेको दिवाभोजमा सरिक थिइन् ।
राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरिन । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गरे । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ ।

 


यसको निर्माण साधारण भए पनि आकर्षक छ । यो मन्दिर ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस मन्दिरमा पुजारी सेङचुङले भारतबाट ल्याएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिन । मन्दिर अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार