काठमाडौं (जस)– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीको बृद्धि भएको नगद धरौटी र बैंक ग्यारेन्टी थप तथा मर्जरका विषयमा साझा दृष्टिकोण बनाउन भेला बोलाउने भएको छ । संघको पहलमा सोमबार भएको संघ कार्यसमिति, सल्लाहकार, पूर्व अध्यक्षहरूबीचको छलफलमा एक सतापछि उल्लेखित विषयमा व्यवसायी भेला बोलाउने म्याण्डेट आएको अध्यक्ष रोहन गुरुङले जानकारी दिए । सोमबारको भेलामा विभिन्न घटक संस्थाका प्रतिनिधिसहित करीव २५ जना अग्रज व्यवसायी सहभागी थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सह–सचिव उमेश ढुंगानाको संयोजकत्वमा गठित कार्यदलमा गत हप्ता यस विषयमा छलफल हुँदा मन्त्रालय र व्यवसायीहरुबीच राय बाँझिएपछि सहमति जुटेको थिएन । व्यवसायीले राखेको अडानमा मन्त्रालयका अधिकारीहरुको फरक दृष्टिकोण आएपछि संघ व्यवसायी भेला बोलाउने योजनामा लागेको हो ।कार्यदल बैठकमा व्यवसायीहरुले राख्ने ५० लाख नगद धरौटी नेपाल सरकारबाट मान्यता प्राप्त क वा ख वर्गको बंैकमा राख्न पाउनुपर्ने र ब्याज व्यवसायीले पाउनुपर्ने नियम बनाउन संघका अध्यक्ष रोहन गुरुङले प्रस्ताव राखेको भएपनि त्यसमा कार्यदलमा रहेका सरकारी प्रतिनिधिले इन्कार गरेका थिए ।
सरकारले व्यवसायीहरुलाई पनि संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य राखेकाले व्यवसायीले राखेको धरौटीको ब्याज व्यवसायीले नै पाउने व्यवस्था गर्न नियमावालीमा प्रावधान हुनुपर्ने अडान राखेको तर, त्यसमा सरकारी पक्षले असहमति जनाएको थियो । कार्यदलको आगामी बैठकमा यो विषय राख्ने तर सरकारी प्रतिनिधि सकारात्मक नभए व्यवसायीको तर्फबाट कार्यदलले बहिष्कार गर्ने सोंच बनेको अध्यक्ष गुरुङले यो विषय पनि व्यवसायी भेलामा उठाए ।