मलेसिया । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा पेनाङस्थित सनसाइन हलमा दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। जनउद्वार केन्द्र मलेसियाको आयोजनामा सम्पन्न कार्यक्रममा मलेसियामा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जनउद्वार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले सम्पूर्ण नेपाली समुदायलाई तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले नेपाली धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने तथा सामाजिक एकता कायम राख्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सो अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने सहभागीहरूले दही, दूध, मिठाई, मासु, सेलरोटी लगायतका परम्परागत परिकारको स्वाद चाख्दै गाउँघरको वातावरण स्मरण गरेका थिए।
कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाबाट निर्मला केसी आचार्य, यसोदा अधिकारी र एकता अवस्थि लगायतको उपस्थिति रहेको थियो। साथै मलेसियामा क्रियाशील सामाजिक संघसंस्था, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न राज्य र क्षेत्रबाट आएका सहभागीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको अध्यक्ष थापाले बताए।

