वर्षाको समयमा जंगलमा जतातै च्याउ उम्रिने गरेका छन् । कतै रुखका हाँगामा, कतै गाईबतुको गोबरमा र कतै सुकेका रुखका ठुटामा छ्यापछ्प्ती जंगली च्याउ उम्रिएको देख्न सकिन्छ । त्यस्ता च्याउ विषालुसमेत हुने गर्छन् । नेपालमा हरेक वर्ष विषालु जंगली च्याउ खाँदा सयौँ नागरिकको ज्यान जाने गरेको छ । बिशेषगरी जेठ महिनादेखि असोज महिनासम्म यस्ता च्याउ उम्रिने गर्छन् । जंगलमा उम्रिने सबै च्याउ विषालु भने हुँदैनन् । तर कुन च्याउ खाजयोग्य हुन्छन् र कस्ता च्याउ विषालु हुन्छन् भनेर छुट्याउन सबैले सक्दैनन् ।
धेरै विषालु च्याउ खाने योग्य च्याउसँग मिल्दोजुल्दो देखिन्छन् । जमिनमा धमिराले माटो उठाएर देवल बनाएका ठाउँको च्याउ भने खान योग्य हुने विज्ञहरुको भनाई छ । यस्ता च्याउ सेतो रंगका हुन्छन् । यीनको टुप्पोमा डल्लो आकार हुन्छ भने त्यस्ता च्याउ फक्रिएका पनि हुन्छन् । तर जंगलमा हिजोआज बिभिन्न रंगका (कालो, रातो, पहेंलो, हरियो) च्याउहरु पनि उम्रिने गर्छन् । घाँसपात र गोठालो जाँदा जंगल र आफ्नै खेतबारीमा भेटिएका च्याउ टिपेर ल्याई घरमा पकाएर खाँदा धेरैको ज्यानसमेत जाने गरेका घटना बिभिन्न सञ्चामध्यमबाट प्रकाशन तथा प्रसारण भइरहेका छन् । यस्ता विषालु जंगली च्याउ खाँदा कतिपय बिरामी परेका घटना पनि सार्वजनिक भइरहेका छन् ।
कतिपय विषालु च्याउ काट्दा चोप निस्किने, त्यस्ता च्याउमा किरामिरा पनि नलाग्ने हुन्छन् । तर पहिचानको पूर्ण ज्ञान छैन भने जंगली च्याउ नखानु नै सुरक्षित हुन्छ ।
यसैक्रममा रोल्पामा विषालु जंगली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उनकी पत्नी ७३ वर्षीया नर्मला ओलीको मृत्यु भएको छ । भागिरामले मंगलबार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए । सुरुमा गाउँकै मेडिकलमा उपचार गरिएको भए पनि ठिक नभएपछि दाङको घोराही स्थित गोरखा अस्पतालमा लगिएको र त्यहाँ उपचार नभएपछि दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा नर्मलाको शनिवार र भागिरामको आइतबार निधन भएको भएको हो ।
यो त पछिल्लो पटक घटेको एउटा उदाहरण मात्र हो । यस्ता घटना देशको धेरैजसो स्थानमा हुने गरेका छन् । तसर्थ यस्ता घटना न्यूनिकरण गर्न जनचेतनाको अभाव छ । नागरिकमा जनचेताना अभिबृद्धि गर्नका लागि देशका सबै स्थानीय तहले चेतनामूलक कार्यक्रम तथा स्थानीय सञ्चारमाध्यममार्फत जनशिक्षाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।
विषालु च्याउ खाँदा पेट दुख्ने, वाकवाकी, बान्ता र पखाला लाग्ने, टाउको दुख्ने, शरीर भारी हुने, अत्यधिक पसिना आउने, थकान महसुस हुने, शरीरमा पानी र नुनको कमी भई डिहाइड्रेसन हुने, दृष्टि धमिलो हुने, मुटुको धड्कन अनियमित हुने र बेहोस भई मृत्युसमेत हुने गरेका बिभिन्न घटनाले देखाएका छन् । तसर्थ च्याउ खाँदा यस्ता लक्ष्यणहरु देखा पर्नासाथ नजिकैको स्वास्थ्य चौकी तथा अस्पतालमा गइहाल्नुपर्छ ।
तसर्थ, यस्ता घटनामा कमी ल्याउन स्थानीय तहको ठूलो भूमिका हुन्छ । स्थानीय तहले नंै आफ्ना जनता तथा नागरिकलाई बेलैमा सूचना दिन जरुरी छ । कतिपय यस्ता घटना गरिवी र अशिक्षाका कारण पनि हुने गरेको छन् । त्यसैले स्थानीय सरकारले स्थानीय पाठ्यक्रममासमेत यी विषयहरुलाई उचित स्थान दिन सकेको खण्डमा यस्ता घटना दोहोरिने थिएनन् । यसतर्फ सरकारको ध्यान जावस् ।