मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि

मंगलबार, कार्तिक २६ २०७६

बनियानी(जस)–झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्बाइज काठमाडौँलाई २–० को गोल अन्तरले पाखा लगाउँदै आर्मीले उपाधि चुमेको हो । आर्मीलाई उपाधि दिलाउन कप्तान टेकबहादुर बुढाथोकी पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेका थिए । खेलको ३२औँ र ८०औँ मिनेटमा बुढाथोकीले गोल गरेका हुन् । बुढाथोकी गोल्डकपकै उत्कृष्ट खेलाडि घोषित भएका छन् ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, उत्कृष्ट मिड फिल्डर चर्च ब्वाइजका सुनिल खड्का, आर्मीका दीपक गुरुङ उत्कृष्ट रक्षक, आर्मीकै टङ्क बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भएका छन् । उत्कृष्ट प्रशिक्षक आर्मीका नवीन न्यौपाने बनेका छन् । विजेता आर्मीले नगद रू १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद रु छ लाख २५ हजार पुरस्कार पाएका छन् । विजेता तथा उपविजेतालाई प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले नगद तथा ट्रफी प्रदान गरे । भारतका दुई टोलीसहित १० टोली सहभागी गोल्डकप बिर्तामोडको जायोन सपोर्टस् क्लबले आयोजना गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार