काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ८ जना नेपालीहरु साउदीस्थित सफरा जेलमा परेका छन् । साउदीको सफरा जेलमा पर्नेमा राम बिहारी महत्तो, युवराज खत्री, लालबहादुर श्रेष्ठ, प्रेम बहादुर तामाङ, विकास राई, कर्ण बहादुर स्याङतान, अम्बर बहादुर लामा , भूप नरायण राजवंशी रहेका छन् । वैदेशिक रोजागारीको क्रममा उनीहरु गत वर्षको माघ महिनामा चालकको काम गर्न भनि साउदी उडेका थिए ।
पीडितमध्येका एक राम बिहारी महत्तोको भाइ खुशीलाल महत्तोका अनुसार चक्रपथमा रहेको ‘अल खलिज’ नामक म्यानपावरबाट साउदी गएका उनीहरुले सम्झौता अनुरुपको पारिश्रमिक र खानाबस्न समस्या परेपछि कम्पनी छोडेका थिए ।
उनीहरु साउदीमा रहेको ‘फोर होरिजेन्टल इस्ट अप जेनरल कन्स्ट्रक्सनमा चालकका काम गर्ने गरेको खुशीलाल महत्तोले बताए ।
कम्पनी छाडेपछि उनीहरुलाई कन्स्ट्रक्सनले चोरीको मुद्धाको आरोपमा सफरा जेल पठाएको महत्तोले बताए । म्यानपावरका सञ्चालक मोहन बस्नेतले भने नेपाल फर्किनका लागि उनीहरु आफै जेल गएको खरीबोटलाई बताए ।
हाल जेलमा रहेका उनीहरुले आफूहरुलाई नेपाल फर्काउनका लागि आग्रह गरेको महत्तोले बताए । जेलमा भएपनि राम बिहारी महत्तोले भने फोनमार्फत् घरमा सम्पर्क गर्ने गरेको भाई खुशीलालले बताए । आफूहरु घर फर्किन चाहेको भन्दै बारम्बार घरमा फोन गर्न गरेको उनको भनाई छ ।