काठमाडौँ(जस)–इजरायल र इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरूको स्थिति, सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल बढाउन सांसदहरूले सरकारको ध्यानार्कषण गराएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले नेपाल फर्किन चाहने र उद्धारको माग गर्ने नेपालीहरूसँग तत्काल सम्पर्क गरी सोहीअनुसार यी दुई देशसँग समन्वय एवं कूटनीतिक पहलकदमी बढाउन सभाअध्यक्षमार्फत परराष्ट्र मन्त्रालयको ध्यानार्कषण गराए । विश्व शान्तिको कामना गर्दै राष्ट्रियसभा सदस्यहरूले यसबाट नेपाललाई पर्ने सम्भावित खतराबारे सरकारलाई सतर्कता अपनाउनसमेत आग्रह गरे । विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले इजरायल र इरान युद्धको मारमा नेपालीको स्थिति र सुरक्षाबारे सरकारलाई सदनसमक्ष जानकारी गराउन माग गरे ।
विशेष समयमा दलीय आधारमा उपलब्ध समयमा नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगर, नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार र नेकपा(एमाले)का सांसद भगवती न्यौपानेले इजरायल र इरानयुद्धले नेपालमा पर्ने प्रभावबारे सरकारको ध्यानार्कषण गराए । “इजरायलमा झण्डै सात हजार र इरानमा एक दर्जन नेपाली छन् । सरकारले उनीहरूको सुरक्षाका लागि केही कदम पनि चालेको छ, कूटनीतिक पहलबाट स्वदेश फर्किन चाहनेलाई तत्काल फिर्ता गरियोस”, सांसद न्यौपानेले भनिन ।
इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो
यसैबीच विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले बस र विमानहरू व्यवस्थित गरिरहेका छन् र केही अवस्थामा मानिसहरूलाई पैदल सीमा पार गर्न मद्दत गरिरहेका छन् । गत शुक्रबार इजरायलले इरानको आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बम आक्रमण अभियान चलाएपछि तेहरानबाट बदलाको कारबाही सुरु भएकाले विदेशीहरूले दुवै देश छाड्न हतार गरेका छन् । तर इजरायलको हवाई क्षेत्र बन्द भएपछि र दुई देशले भारी क्षेप्यास्त्र प्रहार गर्दा धेरै मानिसलाई तेस्रो देशहरूबाट निकालिएको छ ।
युरोप
युरोपेली देशहरूले पहिले नै इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फिर्ता गरिसकेका छन् । चेक गणतन्त्र र स्लोभाकियाले मङ्गलबार सरकारी विमानमा एक सय ८१ जनालाई स्वदेश फिर्ता गरेको बताएका छन् । “हवाई क्षेत्र बन्द भएकाले सेनाको विमान सिधै इजरायल पठाउन सम्भव भएन”, चेक रक्षा मन्त्रालयले एक वक्तव्यमा भन्यो, “उद्धार गरिएकाहरूलाई बसमार्फत छिमेकी देशको एउटा विमानस्थलमा लगियो । उनीहरूले पैदल सीमा पार गरे ।”जर्मन सरकारले जोर्डन हुँदै बुधबार र बिहीबार उडानहरू तय गरिएको बताएको छ भने पोल्यान्डले आफ्ना नागरिकहरू मध्ये पहिलो समूह बुधबार फर्कने बताएको छ । ग्रिसले आफ्ना एक सय पाँच नागरिक र धेरै विदेशी नागरिकलाई इजिप्ट हुँदै स्वदेश फिर्ता गरेको बताएको छ । एक सय ४८ जना यात्रु बोकेको निजी विमान मङ्गलबार बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरेको छ ।
संयुक्त राज्य अमेरिका
इजरायलका लागि अमेरिकी राजदूतले बुधबार हवाई र समुद्री मार्गबाट अमेरिकीहरूलाई निकाल्ने योजना घोषणा गरेका छन् ।“दूतावासले इजरायल छोड्न चाहने अमेरिकी नागरिकहरूका लागि निकासी उडान र क्रूज जहाज प्रस्थानमा काम गरिरहेको छ”, राजदूत माइक हकाबीले एक्समा पोस्ट गरे ।
अस्ट्रेलिया
अस्ट्रेलियाले इरानबाट करिब एक हजार पाँच सय र इजरायलबाट एक हजार दुई सयभन्दा बढी नागरिक निकाल्न थालेको छ । तर अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले मिसाइल आक्रमणले नागरिक विमानहरू कुनै पनि देशमा अवतरण गर्न धेरै जोखिमपूर्ण बनाएको बताए । “त्यहाँ नागरिक विमानहरू भित्र ल्याउने क्षमता छैन, यो धेरै जोखिमपूर्ण छ र हवाई क्षेत्र बन्द छ”, उनले राष्ट्रिय प्रसारणकर्ता एबिसीलाई भने, “हामीले भूमि सीमा पार गरेर अस्ट्रेलियालीहरूको सानो समूहलाई इजरायलबाट बाहिर निकाल्ने अवसर लिएका छौँ । हामी आगामी २४ घण्टामा अझ बढी गर्ने प्रयास गरिरहेका छौँ ।”
पाकिस्तान
पाकिस्तानले आफ्नो घर फर्कन चाहने पाकिस्तानीहरू बाहेक छिमेकी इरानसँगको सीमा नाकाहरू बन्द गरेको छ । अहिलेसम्म कम्तीमा दुई सय विद्यार्थीसहित करिब एक हजार पाकिस्तानी भागेका छन् । इरानबाट कूटनीतिज्ञका परिवार र केही गैर–आवश्यक कर्मचारीहरूलाई बाहिर निकालिएको विदेश मन्त्रालयले जनाएको छ ।
भारत
आर्मेनियाबाट विशेष उडानमा इरानबाट करिब एक सय १० भारतीय विद्यार्थी निकालिएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
न्युजिल्यान्ड
न्युजिल्यान्डले बिहीबार इरानमा रहेको आफ्नो दूतावास बन्द गरेको र दुई जना कर्मचारी र उनीहरूको परिवारलाई भूमिबाट अजरबैजानमा लगेको बताएको छ । “इरान र इजरायलमा अन्य न्युजिल्यान्डवासीहरूको प्रस्थानमा सहयोग गर्ने अवसरहरू आयो भने हामी उनीहरूलाई तुरुन्तै पछ्याउने छौँ”, विदेशमन्त्री विन्स्टन पिटर्सले एक विज्ञप्तिमा भने ।
जापान
जापानले इजरायलमा बस्ने करिब एक हजार र इरानमा करिब दुई सय ८० जापानी नागरिकका लागि सैन्य विमानहरूलाई तयारी अवस्थामा राख्न आदेश दिएको सरकारी मन्त्रीहरूले जनाएका छन् । इरान र इजरायलमा रहेका जापानी दूतावासहरूले छिमेकी देशहरूमा नागरिकहरू निकाल्न बसहरू प्रयोग गर्ने तयारी गरिरहेको एक सरकारी प्रवक्ताले बताए । युद्ध सातौँ दिनमा प्रवेश गरेको छ ।