टिप्पणी
काठमाडौं, ११ जेठ । देशको कार्यकारी प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले सार्वजनिक स्थलमा मन्तव्य (भाषण) दिँदा कस्तो भाषा, शव्द, कस्तो हाउभाऊ, कस्तो लवजको प्रयोग र कस्ता लुगा लगाउनु पर्ला ? उत्तर सहज छ, नेपालको भाषा, संस्कृति, परम्परा आदिको जगेर्ना, संरक्षण र सम्मान हुने खालको प्रयोग गर्नुपर्छ । अरुलाई तुच्छ शैलीमा मुटुनै बिझाउने गरी शब्दबाँण प्रयोग गर्न रुचाउने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतिपयले ‘गालिशिरोमणी’ को उपमा पनि दिने गरेका छन् । सामाजिक सञ्जाल चाहर्दा यस्तै भेटिन्छ ।
वर्तमान काँग्रेस–एमाले गठबन्धनको टेकोले देशको कार्यकारी प्रधानमन्त्री जस्तो गरिमामय पदमा चौथो पटक पुग्ने भाग्यमानी पाएका व्यक्ति खड्गप्रसाद ओली (केपी ओली) भने अचेल देश निर्माण, भ्रष्टाचार उन्मुलन, सुशासन कायम गर्ने, अर्थतन्त्र उकास्ने, बेरोजगारी घटाउने, स्वास्थ्य सेवामा भुइँमान्छेको पुहँच सहजै पुर्याउने, सरकारी नियुक्तिमा नतावाद र कृपावाद हटाउन पहल गर्ने भन्दा पनि सत्ता बाहिर रहेका प्रतिपक्षी दल र तिनका नेतालाई नाइटोदेखि बल निकालेर गोलिगलौज गर्दै समय बर्बाद गर्नमा तल्लिन छन् ।
आफूले भनेजस्तो नभएपछि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई दवाव र प्रभावमा राख्दै उनलाई पद नै दुरुपोग गर्न बाध्य बनाएर यसअघिको संसद बिघटन गरेका तत्कालिन एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि पदीय ओहदाको मर्यादा नै नराखी प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई बेस्सरी धारेहात लगाउँदै सरापेका छन् ।
जनयुद्धमा ज्यानको बाजी लगाएर होमिएका रामबहादुर थापा (बादल), लेखराज भट्ट, टोपबहादुर रायमाझी र उनीहरुसँगै धेरै पूर्व माओवादीहरु एमालेमै छन् । केपी शर्मा ओलीले यसरी माओवादीहरुलाई आजपर्यन्त ‘आतंकारी’ भनिरहँदा ती युद्धमा बन्दुक बोकेर हिँडेकाहरुको मन कस्तो हुँदो हो ? ओलीको यस्तो हेपवाहा प्रबृत्ति सहेर उनीहरु कसरी एमालेमै बसिरहन सकेका होलान ? यो गम्भीर प्रश्न छ । कतै उनीहरुले मन्त्री हुँदा गरेका नीतिगत भ्रष्टाचारमा एमालेले संरक्षण गरिदिन्छ भनेरै त होइन ?
नेकपा (माओवादी केन्द्र) ले दुई वर्षदेखि रुपान्तरणसहितका बिभिन्न अभियान सञ्चालन गरेर जनताको घर–आँगनमा पुगेको असह्य भएपछि प्रधानमन्त्री ओली पदीय गरिमालाई भुलेर निकै तल्लो स्तरमा गिर्दै माओवादीलाई गालिगलौज गरेका हुन् । तत्कालिन नेकपा (माओवादी) ले २०५२ सालदेखि थालनी गरेको जनयुद्ध २०६४ मंसिर ५ गते तत्कालिन सात राजनीतिक दलहरुबीच बृहत शान्ति सम्झौतामार्फत अन्त्य भएको थियो । अझै पनि उक्त युद्धका दोषिहरुले कानुनी कारबाही र अन्यायमा परेकाहरुले उचित न्याय पाउन सकेका छैनन् । सत्य निरुपण तथा मेलमिलप (टीआरसी) आयोगले यससम्न्धी काम गरिरहेको छ ।
आयोगले गर्ने कामलाई नै प्रभावित हुनेगरी आज प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो शैलीमा माओवादीलाई ‘आतंककारी’ नै भने । नेकपा (एमाले) बाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई ललितपुरको गोदावरीमा सम्बोधन गर्दै ओलीले २०६४ सालमा लुटेर र आतंक सिर्जना गरेर माओवादी पहिलो पाटी बनेको अरोप लगाए । उनले माओवादीले तर्साएर आतंकको राज गरेको पनि बताए । उनले २०६४ सालमा देश माओवादीमय नभई आतंकमय भएको उल्लेख गरे । उनले माओवादीका लडाकु क्याम्पमा राखेर, मार्च पास गराएर, मान्छे तान्दै कुट्दै, मार्दै तर्साएर २०६४ मा आतंकको राज गरेको उल्लेख गरे । माओवादीसँग डराएका ओलीले माओवादी अहिले ६४ को जस्तो हुन्छु भनेपनि ६४ अब कहिल्यै नआउने र ठूलो हुन नसक्ने दाबी समेत गरे । उनले आफूबारे अफवाह फैलाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समावेश गरेर वाम एकताको पक्षमा आफू नरहेको स्पष्ट पारे ।
तर यो देशमा अहिले हामी संविधानतः संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी प्रणाली, लोकतान्त्रिक गणतन्त्र आदि उपभोग गरिरहेका छौं । यी सबैको देन माओवादीलाई नैं जान्छ । माओवादीले उठान गरेका एजेण्डामै देश अहिले हिँडिरहेको छ । गणतन्त्रका कुरा गर्दा केपी ओली ‘बयलगाढा चढेर अमेरिका पुग्न नसकिने’ अभिव्यक्ति दिँदै बालकोटको बार्दलीबाट उखान-तुक्का फलाकी रहेका थिए । हो, संघीयता, गणतन्त्र, समानुपातिक प्रणालीमा गलत अभ्यास र दुरुपयोग गर्ने केही स्थानीय तह, राजनीतिक दल, नेता वा मन्त्री होलान्, तर यो प्रणाली नै गलत हो भनेर हिँड्नेहरुका विरुद्ध भने जनता सेचत हुनुपर्छ । गणतन्त्रको बिकल्प राजतन्त्र वा पश्चगमन हुनै सक्दैन । यसको बिकल्प त झन उच्च, निखारिएको परिस्कृत गणतन्त्र र समाजवाद पो हो ।
फेरि कुरा गरौँ ओलीकै । ओलीको पार्टी नेकपा (एमाले)मा केही पूर्वमाओवादीका नेताहरु मिसिएका छन् । तिनीहरु एमाले र माओवादी एकीकृत हुँदा गएका र पछि पार्टीहरुले आ–आफ्नो कित्ताकाट गर्दा उतै अल्मलिएकाहरु हुन् । जनयुद्धमा ज्यानको बाजी लगाएर होमिएका रामबहादुर थापा (बादल), लेखराज भट्ट, टोपबहादुर रायमाझी र उनीहरुसँगै धेरै पूर्व माओवादीहरु एमालेमै छन् । केपी शर्मा ओलीले यसरी माओवादीहरुलाई आजपर्यन्त ‘आतंकारी’ भनिरहँदा ती युद्धमा बन्दुक बोकेर हिँडेकाहरुको मन कस्तो हुँदो हो ? ओलीको यस्तो हेपाहा प्रबृत्ति सहेर उनीहरु कसरी एमालेमै बसिरहन सकेका होलान ? यो गम्भीर प्रश्न छ । कतै उनीहरुले मन्त्री हुँदा गरेका नीतिगत भ्रष्टाचारमा एमालेले संरक्षण गरिदिन्छ भनेरै त होइन ?