मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’ : स्वास्थ्य अवस्था एकदमै राम्रो भएको अस्पतालको दाबी

शुक्रबार, कार्तिक १५ २०७६

काठमाडौं(जस)–प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्केका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको हेमोडायलासिस गरिएको थियो । यस अघि अस्पतालका ग्राण्डीका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको जानकारी दिएका थिए ।
अस्पतालमा पत्रकारहरुसँग कुरा गर्दै डा. पाण्डेले भने,‘उहाँको स्वास्थ्य अवस्था एकदमै राम्रो छ । प्राईममिनिष्टर ईस पर्फेक्टली फाईन ।’ हिजो भर्ना भएका प्रधानमन्त्री ओलीको हिजो र आज गरि मिर्गौलाको दुईपटक डायलाइसिस गरिएको हो । प्रधानमन्त्री ओलीको रगतमा क्रियटिनिनको मात्रा बढि भएर नै डायलाईसिस गरिएको पाण्डेले बताए । तर, कति मात्रा हो भन्ने कुरा उनले खुलाउन नै चाहेनन् । पत्रकारहरुले पटक पटक क्रियटिनिनको मात्राबारे जान्न खोज्दा उनले यो पब्लिक कन्सर्न नभएको भन्दै जवाफ दिनबाट पन्छिएका थिए । त्यस्तै, उनले प्रधानमन्त्रीलाई आइसियुमा नराखिएको पनि जिकिर गरे । उनले भने,‘‘उहाँलाई डायलासिस रूममा राखेको हो ।’
उनले प्रधानमन्त्री राष्ट्रको सम्पत्ति भएकोले उनको स्वास्थ्यबारे ढाँट्न जरुरी नभएको पनि बताए । उनले भने,‘अहिले हामी राम्रो अवस्थामा छौं । तपाईहरु निश्चिन्त हुनुहोस् ।’ प्रधानमन्त्रीलाई थप उपचारको लागि विदेश लैजानुपर्छ वा पर्दैन् भन्ने प्रश्नमा उनले भने,‘नेपालमा एक्सलेन्ट टिम छ ।
ब्लड टेष्टको एनालाईसिस भैसकेको छ । अहिले अवस्था राम्रो छ । भोलिको अवस्था म भन्न सक्दिन् । क्रियाटिनको मात्रा पब्लिकको कन्सर्न होईन् । जनरल कन्डिसन राम्रो छ ।’ हिजो आफूहरुले उपचारको बारेमा धेरै कुरा लिक नगरेकै हो भनेर उनले स्विकारे । उनले भने,‘पेसेन्ट प्राईभेसी एकदम महत्वपूर्ण हुन्छ । यो कुरा भोलि तपाईहरुले पनि थाहा पाउनुहुनेछ । डा. पाण्डेले किन भन्यो भनेर ?’ प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार जाँदापनि उनीसँगै चिकित्सकको टिम पनि सँगै जाने उनले जनाए । उनले भने,‘डा. दिव्या सिंह शाह उहाँसँगै जानुहुन्छ ।’ उनले आफू त खुशी भएको प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलामा समेत समस्या आउन थालेको छ। उनले गत भदौमा सिंगापुर गएर प्लाज्माफेरेसिसु गरेका थिए । रगतमा (एन्टिबडी) बढेपछि प्लाज्माफेरेसिस प्रक्रियामार्फत् उपचार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार