शनिबार, कार्तिक ८ २०८३

शनिबार, कार्तिक ८ २०८३

नीतिगत र व्यावहारिक समस्याहरूको समाधान गर्न काम गर्नेछु : नरेन्द्रप्रसाद ढकाल, प्रथम उपाध्यक्षका उम्मेदवार

बुधबार, चैत्र २७ २०८१

काठमाडौं । यहि चैत्र २९ मा हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार गणतान्त्रिक मंचको तर्फबाट गुरुङ म्यानेजमेन्ट प्रा. लि.का भुवनसिंह गुरुङले उम्मेदवारी दिएका छन् । गुरुङ समूहको प्रथम उपाध्यक्षका उम्मेदवारका रुपमा नोकरी नेपाल प्रा.लि.का अध्यक्ष नरेन्द्रप्रसाद ढकाल चुनावी मैदानमा उत्रिएका छन । संघको चुनावी माहोलबारे प्रथम उपाध्यक्षका उम्मेदवार नरेन्द्रप्रसाद ढकालसँग जनसवाल राष्ट्रिय दैनिकले गरेको कुराकानी :

यहाँ प्रथम उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । मतदाताहरु समक्ष तपाईंका प्रतिबद्धता के छन ?
नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगार क्षेत्रलाई नीतिगत तथा व्यावहारिक दृष्टिकोणले पारदर्शिताका आधारमा अगाडि बढाउनुपर्छ भन्ने मान्यतामा मैले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएको छु । वार्षिक रूपमा श्रम बजारमा आउने करिब ५ लाख युवालाई आन्तरिक रूपमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन सकिरहेको छैन । वैदेशिक रोजगार ऐन, कानुनमा व्यवसायीको हितमा नरहेका प्रावधान हटाउँदै विश्व श्रम बजारमा सिर्जना भएका रोजगारीका अवसर नेपाली बेरोजगार युवा समक्ष ल्याउन नीतिगत र व्यावहारिक समस्याहरूको समाधान गर्न काम गर्नेछु ।

वैदेशिक रोजगार क्षेत्रका मुख्य समस्या के के हुन ?
वैदेशिक रोजगारका क्षेत्रमा सरकारले नियन्त्रणमुखी, अपारदर्शी र अव्यावहारिक निर्णय लादेको छ । फ्रि भिसा, फ्रि टिकटको अत्यन्तै अव्यावहारिक निर्णय लागू गरिएको छ । तर, व्यवसायीले पाउने सेवा शुल्क परिमार्जन भएको छैन । अनावश्यक रूपमा बढाइएको इजाजतपत्रको धरौटी तथा बैंक ग्यारेन्टीले व्यवसायीहरुलाई अनावश्यक आर्थिक भार थोपरेको छ । इजाजतपत्र नवीकरण गर्दा वार्षिक १ सय जना कामदार अनिवार्य रूपमा विदेश पठाउनुपर्ने वाध्यकारी व्यवस्था छ । वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई रोजगार करारपत्रका आधारमा अन्तिम श्रम स्वीकृति दिईएको छैन ।
नेपालीहरूका लागि आकर्षक मानिएका युरोपेली गन्तव्य मुलुकहरूको मागपत्र प्रमाणीकरणमा कूटनीतिक नियोगहरू जिम्मेवार नहुँदा हजारौं फाइलको काम अड्किँदा व्यवसायीहरु निराश भएका छन । वैदेशिक रोजगारका क्षेत्रसँग सम्बन्धित अभिमुखीकरण तालिम तथा अन्य व्यवसाय संचालन गर्न नपाउनेगरी अनुचित प्रतिबन्ध लगाइएको छ । त्यस्तै, वैदेशिक रोजगार विभागले परीक्षणका नाममा लागू गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको समस्याहरु सुधार गर्नुपर्ने खाँचो छ । यी समस्या समाधान नगरेसम्म वैदेशिक रोजगार अघि बढ्न सक्दैन । समस्या थाँती राखेर कामदारहरू पनि सुरक्षित हुँदैनन् । ऐन र नियमावली तथा सेवा शुल्क परिमार्जनमा नै मेरो जोड रहने छ । सय संख्या समाधान, सेवा शुल्क परिमार्जन र सिन्डिकेट अन्त्य गर्नेनै मेरो प्रमुख मागहरु हुन ।

हालका समस्यालाई कसरी समाधान गर्न सकिन्छ ?
बिभिन्न पार्टीका मन्त्री हुँदा भएका निर्णयले समस्या सिर्जना भएको भए पनि त्यो समग्र राज्य संयन्त्रको वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने दृष्टिकोणले उत्पन्न गरेको परिवेश हो । त्यसमा मन्त्रीलाई व्यक्तिगत रूपमा जिम्मेवार ठहयाउनु भन्दा पनि वैदेशिक रोजगार प्रशासनमा रहेको अपरिपक्वता र पूर्वाग्रहका कारणले व्यवसायविरोधी नीति बनिरहेका छन् भनेर आमव्यवसायीले बुझ्नुपर्छ । विगत २ दशकदेखि मपनि यस व्यवसायमा रहेकोे छु र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको कुशलतापूर्वक नेतृत्व गरेका कारणले निःस्वार्थ रूपमा काम गर्दा समस्याको समाधान गर्न सकिन्छ भन्ने विस्वास लिएको छु । विगतमा विभिन्न जिम्मेवारीमा रहँदा व्यवसायीको हितमा काम गरेको छु । तत्काल समाधान हुनुपर्ने वैदेशिक रोजगारीमा जाने कामदारको लागत परिभाषित गरेर सेवा शुल्कको तार्किक निष्कर्ष पु¥याउने काम विलम्ब नगरी समाधान गर्ने प्रयास गर्नेछु ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आबद्ध व्यवसायीहरु किन फरक–फरक प्यानलबाट प्रतिस्पर्धा गरिरहनुभएको छ ?
एसोसिएसनको आधिकारिक प्यानलको नेतृत्व भुवनसिंह गुरुङको समुहले गरेको छ । व्यवसायीका समस्या पहिचान र समाधानका लागि हामी अनुभवी र जानकार छौं । एसोसिएसनमा लामो समय क्रियाशील केही व्यवसायी लहलहैमा लागेर अन्यत्र उम्मेदवार बन्नुभयो । यो राम्रो होईन । वैदेशिक रोजगार क्षेत्रमा एसोसिएसनले सशक्तता यथावत् कायम गरिरहेको देखाएको छ । सम्पुर्ण व्यवसायीहरुले आधिकारिक उम्मेदवारका पक्षमा मतदान गर्नुहुने छ । म व्यवसायीहरूको समस्या समाधानका लागि इमान्दार प्रयास गर्न उम्मेदवार हुँ जुनसुकै आस्था र विचार राख्ने वा तटस्थ व्यवसायीज्यूहरूलाई हाम्रो समुहलाई मतदान गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार