मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

राष्ट्रिय खेलकूदमा पहिलो सहभागितामै सबैको मन जित्यो एनआरएनएले, खेल स्थल सफा गरेर दियो सकारात्मक सन्देश (फोटोफिचर)

आइतबार, बैशाख ८ २०७६

काठमाडौँ, ८ बैशाख । अहिले नेपालकै खेल उत्सवका रुपमा आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रदेश पाँचका पाँच वटा जिल्लामा सञ्चालन भइरहेको यो राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ(एनआरएनए) पनि सहभागी भएको छ । प्रतियोगितामा सात वटा प्रदेश, तीन विभागीय र एनआरएनएको टिम सहभागी छन् । एनआरएनएनबाट विभिन्न खेलका लागि जम्मा २५ खेलाडीले पहिलोपटक राष्ट्रिय खेलकूदमा खेलिरहेका छन् । कुनै पनि राष्ट्रिय प्रतियोगितामा एनआरएनएको यो पहिलो सहभागिता हो ।

दर्शकहरु खेल हेर्न जाँदा ‘ड्राइ फुड्स तथा कोल्ड ड्रिंग्स’का बोतलहरु लिएर जाने गर्छन् । ख्याल गर्नुभएको होला तपाई हामीले खाइसके पछि फोहोरहरुजथाभावी त्यसै रंगशाला परिसरमा छाडेर आउँछौं । दर्शकबाट हुने फोहोरो दैनिक सयौं केजीको वजनमा हुने गर्छ । प्रतियोगिता आयोजना गर्नु एउटा चुनौती त छनै संगसँगै कसरी खेल स्थल सफा राख्ने भन्ने ध्यान पनि आयोजकले दिनुपर्ने हुन्छ । आयोजकले ध्यान दिएका पनि छन् त्यसकालागि हरेक दिन जसो सरसफाइ गर्नका लागि निश्चित व्यक्तिलाई खटाएका पनि छन् । यसमा एनआरएनएले अहिले खेलस्थल सफाइको अभियाननै सञ्चालन गरेर सबैलाई सकारात्मक सन्देश दिएको हो ।

एनआरएनका खेलाडीहरुले सहभागिता जनाएका खेलस्थलको फोहोर संकलन गर्ने काम शुरु देखिनै गर्दै आएको छ । वैशाख ५ गते नेपालगञ्ज रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन भए पछि एनआरएनएले रंगशाला परिसर सफाई गरेर फोहोर संकलन गरेको थियो । त्यस रंगशालाबाट झण्डै चार सय केजी बराबर फोहोर संकलन भएको एनआरएनएका कराँतेका अफिसियल टिम मेनेजर तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य मनोज गोर्खालीले जनसवालसँग बताए ।

आयोजकहरु प्रतियोगिताको व्यवस्थापनमा केन्द्रित हुने हुँदा एनआरएनएका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल अधिकारी सबै मिलेर खेल सकिए पछि फोहोर संकलन गर्ने गरेको गोर्खालीले बताए । यसरी संकलन गरिएको फोहोर आयोजकको रोहबरमा निश्चित ठाउँमा राखिदिने र उनीहरुले व्यवस्थापन गर्ने गरेको उनको भनाई छ । एनआरएनएबाट आठौं राष्ट्रिय खेलकूदमा २५ जना खेलाडी, १७ जना व्यवस्थापक, २ जना निर्णायक र ७ जना खेल पदाधिकारी गरि ५१ जनाको सहभागिता रहेको छ ।

अहिलेसम्म एनआरएनएले नेपालगञ्ज रंगशालाका साथै तुलसीपुरमा जारी कराँते परिसर र घोराहीको व्याडमिन्ट कोर्ट आसपासमा सरसफाई गरिसकेको छ । आगामी दिनमा एनआरएनएले खेल्ने खेल स्थलको पनि सफाई गर्ने जनाइएको छ । घोराही र तुलसीपुरमा झण्डै ६० केजी फोहोर संकलन भएको थियो । एनआरएनले अहिलेसम्म १ स्वर्ण १ रजत र ४ कास्य पदक जितिसकेको छ ।

बिदेशमा रहेर पनि नेपाल र नेपालीको हितमा समर्पित एनआरएनएले यो प्रतियोगितामा पहिलोपटक सहभागितामै सबै खेलप्रेमी र नेपाली जनताको मन जित्न सफल भएको छ । प्रतियोगिताको पहिलो सहभागितामँै स्वर्ण पदकको उपलब्धि हासिल गरिसकेको एआरएनएले खेलबाट मात्र होइन कि खेलस्थल सफा गरेर सकारात्मक सन्देश छर्न सफल भएको हो । हाल आगामी ११ गतेसम्म चल्ने प्रतियोगिताका ३५ खेलमध्य आधाजसो सकिएका छन् भने अन्य खेलहरु सञ्चालन भइरहेको छ । प्रतियोगिता सञ्चालन हुँदा दर्शकहरुको उपस्थिीति पनि क्रमश बढ्दै गएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार