बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आज एमालेको शक्ति प्रदर्शन, एक लाख कार्यकर्ता र समर्थक उतार्ने दाबी

शुक्रबार, मंसिर ७ २०८१

काठमाडौं(जस)–सत्तारुढ नेकपा एमालेले शुक्रबार काठमाडौंमा जागरण सभामार्फत ‘शक्ति प्रदर्शन’ गर्दैछ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।
बिहीबार अपराह्न सम्पदाहरूसँग समसामयिक राजनीतिक विषयमा गरिएको अन्तरक्रियामा उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको जानकारी दिए । देश बन्दै छ, हामी बनाउँछौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको उनको भनाइ छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । उपत्यकाको ३ जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पु¥याउने दाबी गरिएको छ ।
जागरणसभाका संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराई थिए यद्यपि उनी आईसीएपीपीको अधिवेशनमा सहभागी हुन कम्बोडिया उडेपछि अहिले बागमती अध्यक्ष कैलाश ढुंगेललाई उक्त जिम्मेवारी दिइएको छ । भद्रकालीबाट सुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने बताइएको छ ।
जुलुस र सहभागिता बढ्ने देखिएकाले पूर्व निर्धारित स्थल भृकुटीमण्डपमा ट्राफिक व्यवस्थापनमा समस्या र सर्वसाधारणलाई मर्का पर्ने देखिएकाले फराकिलो र एउटा सडक मात्र प्रभावित हुने ठाउँ खोजिएको एमालेले जनाएको छ । जुलुस साढे ११ बजेबाट सुरू भई १२ बजे सभामा परिणत हुने बताइएको छ । सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली छन् ।
तीन ठाउँमा एकै समय प्रदर्शन
शुक्रबार काठमाडौंको तीन ठाउँमा एकै समय प्रदर्शनका कार्यक्रम हुने भएका छन् । विभिन्न पक्षले एकै साथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोही अनुसार सुरक्षाको योजना बनाइरहेको छ । सत्तारुढ नेकपा एमालेले शुक्रबार जागरण सभा गर्दैछ । एमालेले ¥याली गरेर काठमाडौंको दरबारमार्गमा प्रदर्शन गर्ने अनुमति प्रशासन कार्यालयबाट लिएको छ । एमालेले एक लाख हाराहारी मान्छे काठमाडौंमा उतार्ने तयारी गरेको छ । एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ । एमाले नेता विष्णु रिजालका अनुसार काठमाडौंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ ।
त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि शुक्रबार प्रदर्शन गर्दैछ । प्रसाईं अहिले साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा छन् । तर उनको पूर्व निर्धारित प्रदर्शन भने नरोकिने बताइएको छ । प्रसाईंका पक्षधरलाई प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वरमा कार्यक्रमका लागि अनुमति दिएको छ ।
माइतीघरमा सहकारी पीडितसहित अन्य प्रदर्शन हुन सक्ने प्रशासनले जनाएको छ । सहकारी पीडितले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डल केन्द्रित प्रदर्शन गर्दै आएका छन् । काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउन योजना बनाइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । प्रदर्शन हुने क्षेत्रहरूमा सवारी चाप भने हुने उनले बताएका छन् । ‘ट्राफिक जाम त हुन्छ । तर त्यसलाई पनि धेरै असर नपरोस् भन्ने हिसाबले हामीले योजना बनाएका छौं,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार