सोमबार, कार्तिक २६ २०८१
मलेसिया(जस)–नेपाली कामदारहरुको प्रमुख र आकर्षक गन्तब्यको रुपमा मानिएको मलेसियाको रोजगारी मेनपावर व्यवसायी र नेपाल स्वास्थ्य व्यवसायी महासंघको सिन्डिकेटका कारण गुम्ने खतरा बढ्दै गएको छ । मेनपावर व्यवसायीहरुबिच कमिसनको भाले जुधाई र अस्वस्थ प्रतिस्पर्धाले मलेसियाको रोजगारी संकटमा परेको हो ।
हाल मलेसिया रोजगारी पुर्णत बन्द रहेको छ । तरपनि मलेसियाको डिमाण्ड पुर्व स्वीकृति लिनुअगावै केही मेनपावरले मेडिकल व्यवसायीसँग मिलेर हजारौं युवालाई मेडिकल गराएका छन । मलेसियाको प्लान्टेसन अन्तर्गत फेल्डा कम्पनीबाट डिमान्ड आएको छ भन्दै हजारौं युवालाई मेडिकल गराएर केही मेनपावरहरु र नेपाल स्वास्थ्य व्यवसायी महासंघ अन्तर्गतका मेडिकलहरुले चलखेल गरेका छन । वैदेशिक रोजगार ऐनमा पुर्व वीकृति नआएसम्म मेनपावर कम्पनीले पासपोर्ट कलेक्सन गर्न पाउँदैनन । खुलम खुल्लारुपमा ऐन नियमलाई धोती लगाउँदै रोजगारीको पुर्वस्वीकृति नआउदै पासपोर्ट कलेक्सन गरेर मेडिकल गराउदासमेत श्रम मन्त्रालय र वैदेशिक रोजगार बिभाग आखामा पट्टी बाँधेर तथा कानमा तेल हालेर बसेको देखिन्छ । कामदारको उक्त मेडिकलको समय ३ महिनाको मात्रै हुने गरेको छ ।
यो भन्दा पहिलेपनि मेनपावर व्यवसायीले नेपाल स्वास्थ्य व्यवसायी महासंघसंगको मिलेमतोमामलेसिया रोजगारको डिमाण्ड आउँदैछ भन्दै एकै जनाको ३ पटकसम्म मेडिकल गरेर कामदारलाई ठग्ने गरेका थिए । मलेसिया रोजगारीको सिन्डिकेट गरेर नेपाल स्वास्थ व्यवसायी महासंघअन्तरगतका ३५ वटा मेडिकलले स्वास्थ परीक्षण गराउँदै आएका छन । उक्त सिन्डिकेट समुहको नेतृत्व कैलाश खड्काले गरेका छन । उनीहरुको मलेसियासङ्गको एग्रिमेन्ट सकिएर पुन एग्रिमेन्ट भएको छैन । उक्त सिस्टमबाट मेडिकल गराउँदा १०० रिङ्गेट अर्थात ३३०० रुपैया बायोमेट्रिक एसडिएन बिएचडि मलेसियन कम्पनीलाई जाने गरेको छ । यसरी बिना पुर्वस्वीकृति मेडिकल गराउँदा पहिला पनि हजारौं युवाहरुबाट करोडौ रकम मलेसिया पुगेको र फेरिपनि जाने निश्चित देखिएको छ । तर ,यसतर्फ सम्बन्धित निकाय मौन रहेका छन् ।
हाल पहिलो चरणमा प्लान्टेसनअन्तर्गत फेल्डा कम्पनीको डिमाण्ड आँंदैछ भनेर मलेसियामा रहेका केही मलेसियन एजेन्ट र नेपाली मेनपावरहरुको मिलेमतोमा यो सबै खेल भैरहेको एक जानकारले बताए । प्लान्टेसनअन्तर्गत आउने फेल्डा कम्पनीको डिमान्ड पूर्णतया शुन्य लागतमा आउने डिमान्ड हो । तर, हाल डिमाण्ड ल्याउन तल्लीन मेनपावरहरुको अस्वस्थ प्रतिष्पर्धाले शुन्य लागतमा आउने फेल्डा कम्पनीको प्लान्टेसनको डिमान्ड प्रतिकामदार ६५०० रिङ्गेटसम्म तिर्न मेनपावर व्यवसायीहरु बीच भालेजुधाई नै परेको छ । दर्जनौ मेनपावरले विभिन्न एजेन्टहरुलाई डिमान्ड मिलाईदिन भन्दै करोडौ रकम बुझाइसकेका छन । त्यतिमात्रै होईन मलेसियाको रोजगारी कहिले खुल्ने निश्चित नभैरहेको अवस्थामा सयौ मेनपावरहरुले आफ्ना मलेसियाका एजेन्टहरुलाई अर्बाै रकम डिमान्ड मिलाउन कमिसन पठाईसकेका छन् । कति मेनपावरहरुको अघिल्लो पटक बन्द हुनु अगाडिको अर्बौ रकमसमेत अझै कमिसनको रुपमा एजेन्टहरुलाई डिपोजिट रहेको र तिनै एजेन्टले फेरि नयाँ मेनपावरसँग पनि कमिसन उठाउन थालेपछि मलेसियाको रोजगारी नखुल्दै दलदलमा फसेको छ ।
फेल्डा कम्पनीको प्लान्टेसनको डिमान्ड प्रतिकामदार मलेसिया पुगेबापत २९०० रिङ्गेट कम्पनीले नै दिने र पुर्णरुपमा निशुल्क डिमाण्ड रहेको कम्पनीले जनाएपनि नेपालका मेनपावरहरुले भने पैसा बोकेर मलेसियाका एजेन्टलाई बुझाउन तल्ीलन रहेका छन । अहिलेको अबस्थामा प्लान्टेसनमा जाने प्रति कामदार ४ लाख नेपाली रुपैया पर्ने मेनपावर व्यवसायीहरु नै बताउँछन । रोजगारदाताले भिसा÷टिकट आफैले दिएर पनि कमिसन दिदा पनि मेनपावर व्यवसायीहरुबीच कमिसन दिएर डिमान्ड आफुले कब्जा गर्ने खेलमा लाग्दा नेपालीको लागी मलेसियाको रोजगारी अब बङ्गलादेशको जस्तै हुने निश्चित भएको एक व्यवसायीले बताए । बङ्गलादेशबाट एक कामदार मलेसिया लैजान ८ देखि १० हजार रिङ्गेट कमिसन तिर्ने गरिएको छ ।
योभन्दा पहिले प्लान्टेसनमा मलेसिया रोजगारमा जाँदा प्राय निशुल्क जाने गर्दथे । अहिले पनि इथिकल मात्र काम गर्ने मेनपावरबाट मलेसिया रोजगारमा जाँदा कुनै पनि शुल्क लाग्दैन । केही कम्पनीको प्लान्टेसनको कोटा र सेक्युरिटी गार्डबाहेक मलेसियाले विदेशी कामदारका लागि तत्कालै अन्य कोटा खुला नगर्ने जनाएको छ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुशन इस्माइलले विदेशी कामदारका लागि बन्द रहेको मलेसियाको रोजगारी तत्काल नखोलिने बताएका छन । मलेसियामा विदेशी कामदारको संख्याले तोकिएको सीमा नाघेको जनाउदै उनले एक विज्ञप्तिमार्फत थप अध्ययन र पुनर्विचारपछि विदेशी कामदारको कोटाका आवेदन रोक्का गर्ने यसअघिको निर्णयलाई आगामी केही समयका लागि यथावत राखिने निर्णय भएको बताए ।
मलेसियालाई तत्काल बिदेशी कामदारको माग नरहेको जनाउँदै नयाँ कामदार कोटा तुरुन्तै आवश्यक नरहेको इस्माइलले बताए । मलेसिया सरकारले विदेशी कामदार ल्याउनका लागि रोजगारी कोटा खोल्ने निर्णयका विषयमा गम्भीर समीक्षा र पुनर्विचार गरेर थप व्यवस्थित तरिकाले मात्रै कामदार भित्र्याइने निर्णय गरिएको उनले बताए । यो घोषणासङ्गै अझै केही महिना अर्थात जनवरीसम्म मलेसिया रोजगारी नखुल्ने निश्चित छ । अवैधानिक हैसियतमा मलेसियामा रहेर काम गर्दै आएका विदेशी कामदारलाई मलेसिया सरकारले ल्याएको घरफिर्ती कार्यक्रम (आरटिके) २.० समेत आगामी डिसेम्बर ३१ मा सकिने र त्यसपछी मात्रै कामदार कोटा सिर्जना गर्न त्स्यारी गरिने इस्माइलको भनाइ रहेको छ । उक्त भनाईले अझै एक महिनाभन्दा धेरै मलेसियाको रोजगारी नखुल्ने निश्चित छ ।
मलेसियाले आफ्नो मुलुकमा २३ लाखभन्दा बढी विदेशी कामदार रहेको जनाएको छ । औद्योगिक, निर्माण, सेवा, कृषि, घरेलु काम र खानी तथा उत्खनन क्षेत्रमा २३ लाख ७ हजार ७ सय ४६ विदेशी कामदार रहेको मलेसियाको मानव संशोधन मन्त्रालयले सार्वजनिक गरेको छ । बैधानिकरुपमा यति कामदार भएपनि अबैधानिक रुपमा लाखौ कामदार मलेसियामा रहेका छन् । मलेसियाले यिनै अबैध कामदारका कारण केही समय बिदेशी कामदारको कोटा रोकेको र जतिसक्दो धेरै अबैध कामदारहरुलाई देशबाट बाहिर निकालेपछि मात्रै कामदारको कोटा खोलिने जनाईएको छ ।
हाल मलेसियामा औद्योगिक क्षेत्रमा ७ लाख ३१ हजार, निर्माण क्षेत्रमा ६ लाख ४७ हजार, सेवा क्षेत्रमा ३ लाख ९४ हजार ७ सय ३९, प्लान्टेसन क्षेत्रमा २ लाख ६३ हजार १ सय ५१, कृषि क्षेत्रमा १ लाख ७१ हजार १ सय ३ र घरेलु कामदारको हैसियतमा १ लाख ६ सय ७५ जनाको हाराहारीमा विदेशी कामदार रहेको मलेसियाले जनाएको छ । त्यसमध्ये नेपाली कामदारको संख्या ४ लाख भन्दा बढी रहेको जनाइएको छ । नयाँ विदेशी कामदारको कोटा नखुलाउने मलेसियाको निर्णयले नेपाली अर्थतन्त्र र नेपाली मेनपावर कम्पनी प्रत्यक्ष प्रभावित भएका छन । करिव ६०% मेनपावर कम्पनी मलेसिया रोजगारमा मात्रै सिमित रहेका छन ।
गत वर्षको फागुनदेखि नै मलेसिया कामदार नपठाउँदा धेरै मेनपावर कम्पनीले कम्पनी नवीकरणका लागि तोकिएको वार्षिक सय संख्या पु¥याउन समेत सकेका थिएनन । मलेसियाली गृहमन्त्री इस्माइलले मलेसियामा अवैधानिक विदेशी कामदार वैधानिक बन्न मिल्ने रिक्यालिब्रेसनको अवधि पनि सकिएकाले अब तत्कालै वैधानिक बन्न मिल्ने कुनै पनि कार्यक्रम सञ्चालन नगर्नेसमेत जनाउदै अबैधानिक कामदारलाई मलेसिया छाड्न आग्रह गरेका छन । अक्टोबर १ तारिकमा अवैधानिक विदेशी कामदारको दर्ता अवधि समाप्त भएको र उक्त अवधिमा अप्लाइ गरेका तर भिसा नलागेका, वैधानिक नभएका सबै समयमै स्वदेश फर्किनुपर्ने मलेसियाले बताएको छ । मलेसियाको हालको ठूलो समस्या नै अबैधानिक कामदार नै भएकाले मलेसियाले तेस्लाई नै प्रमुख प्राथमिकता दिएको छ ।
यता मलेसियास्थित नेपाली दुताबासले भने फेल्डा कम्पनी अन्तर्गत प्लान्टेसन कामको केही मागपत्रसहित केही मेनपावरले अप्लाई गरेको भएपनि आफुहरु त्यसको बारेमा बुझिरहेको बताएको छ । मलेसियास्थित नेपाली दूतावासकी कार्यकारी राजदुत मुदिता बज्राचार्यले आफुहरु पनि उक्त डिमाण्डको सत्य तथ्यको बारेमा बुझिरहेको बताईन । दुताबासले केही समय होल्ड गरेपनी उक्त फेल्डा कम्पनीको डिमान्ड फाईल कम्पनीले अनलाईनमार्फत नेपाली राजदुताबासमा पेश गरेको र उक्त फाईल तत्कालै सदर गरिने दूतावास स्रोतले बतायो । उक्त फाईल सदर गराउन श्रम मन्त्रालयबाट नै केही मेनपावर व्यवसायीले दबाब सिर्जना गराएका थिए । उक्त समुहले मन्त्रालय र नेपाली दुताबाससङ्ग आर्थिक साठ गाठ गर्दै मङ्गलबार र बुधबारभित्रमा फेल्डा कम्पनीको डिमान्ड अनलाईन स्वीकृत गराउँदैछन ।
यसभन्दा पहिला पनि फेल्डा कम्पनीले नेपालका विभिन्न मेनपावर कम्पनीहरुलाई डिमान्ड दिएर मेडिकल,बायोमेट्रीक,कलिङ्ग भिसा,श्रम र उडान टिकट गरिसकेका कामदारहरुलाई समेत नलगी नयाँ मेनपावरहरुलाई डिमान्ड बिक्रि गरेको र सोबिरुद्ध श्रम मन्त्रालय,बैदेशिक रोजगार बिभाग र नेपाली राजदुतावास मलेसियामा प्रमाणसहित मुद्दा दर्ता गरिएको थियो । तर अहिले यिनै सरोकारवाला निकायले उक्त मुद्दालाई बेवास्ता गर्दै फेल्डा कम्पनीको मागपत्र नेपालका विभिन्न मेनपावर कम्पनीहरुको नाममा स्वीकृत गर्ने चलखेल भैरहेको छ । मलेसियाले आगामी बर्ष देखि कामदारको न्यूुनतम तलब प्रति महिना १७०० रिङ्गेट बनाएकाले पनि मलेसिया रोजगारीको आकर्षक झनै बढेको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij