मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

प्रकाशकीय

बुधबार, भाद्र ५ २०८१

जनसवाल राष्ट्रिय दैनिक दुई दशकतर्फको यात्रामा उन्मुख भएको छ । विभिन्न आरोह–अवरोहसँगै परिवर्तनहरुलाई आत्मसाथ गर्दै हामी आज आफ्नो १८ औं वार्षिकोत्सव मनाउन सफल भएका छौं । हाम्रा लागि प्रारम्भ विन्दुदेखि आजपर्यन्त जनताका मुद्दा भनौं वा जनपक्षीय पत्रकारिताको यो यात्रा निकै सघर्षपूर्ण र अविस्मरणीय रहेको छ । विश्व परिदृश्यमै पछिल्लो दशक छापा पत्रकारितामाथि बढदो चुनौती, खुम्चिदो नेपाली विज्ञापन बजार र अन्य चुनौतीहरु माझपनि निरन्तरताको हाम्रो अठोट सधैं अटल रहिरह्यो । जसका कारण जनसवाल राष्ट्रिय दैनिक आज नेपाली पत्रकारिताको क्षेत्रमा एउटा सुनौलो यात्राको साक्षी बन्न सफल भएको छ । डेढ दशक लामो यो यात्रामा हामीले आजको गन्तव्यसम्म आइपुग्दा विश्वसँगै देशभित्र घटित घटनाक्रमहरु सँगसँगै अगाडि बढने हिम्मत गर्यौ र सफल पनि बन्यौ । हामीले जनसवाल राष्ट्रिय दैनिक प्रारम्भ गर्दा देश २४० वर्ष लामो राजतन्त्रबाट गणतन्त्र नेपालमा प्रवेश गरेको थियो भने त्यसपछि देश एकात्मक व्यवस्थाबाट संघीय स्वरुपमा रुपान्तरित भयो । सयमक्रमसँगै हामी पनि पाठकहरुका चाहना, अपेक्षा र आवश्यकताहरुलाई सम्बोधन गर्दै पत्रकारिताको माध्यमबाट हामीले निर्वाह गर्नुपर्ने दायित्वमा अग्रसर भइरह्यौं । हाम्रो यात्रा आजसम्म आइपुग्दा हामीले धेरै राजनीतिक परिवर्तनको साक्षी बन्ने अवसर पायौं र जुनसकै परिवर्तनमा पनि हामी जनताका पक्षमा उभियौं र सधै आफ्नो प्रतिबद्धामा अडिग रह्यौ । पछिल्लो समयम पत्रकारिथता क्षेत्रैक लागि गम्भीर चुनौती बनेको कोरोना महामारीका कारण समग्र क्षेत्र प्रभावित बनेको अवस्थामा पत्रकारिता क्षेत्र पनि त्यसबाट अछुतो रहन सकेन र हामीपनि त्यसबाट गम्भीर रुपमा प्रभवित भयौं । कोरोनाकै कारण धेरै सञ्चार माध्यम र सञ्चारकर्मीले आफ्नो व्यवसाय र पेशाबाटै पलायन हुनुपर्ने अवस्थासमेत आयो । यो संकटमा हामीले पनि आर्थिकदेखि विभिन्न समस्याहरुको सामना गर्नुपर्यो । तर, जस्तासुकै समस्या र परिस्थितिमा पनि हामी हाम्रो यात्रामा निरन्तर क्रियाशील भइरह्यौ । यो हाम्रा सबै शुभचिन्तकहरुको माया, भरोसा र विश्वासको जगमा हामीले प्राप्त गरेको आत्मविश्वास हो । विगतमा हामीले महाभूकम्प र नाकाबन्दीजस्तो जटिल परिस्थितिमा पनि विभिन्न समस्यासँगै जुध्दैं पाठकलाई सूचना पुर्याउने हाम्रो अभिभारालाई पूरा गरिरह्यौ भने नाकाबन्दी तथा विभिन्न राजनितिक प्रतिकुल परिस्थितिमा पनि हामी निरन्तरताका लागि खटिरह्यौं । समयक्रममा आएका जटिल परिस्थितिहरुमा जनसवाल राष्ट्रिय दैनिकले कलमको नींवलाई थप तिखो पार्दै पाठकहरुमा सूचना प्रवाहको आफ्नो जिम्मेवारीलाई सधैं कायम राख्न सक्नुलाई हामीले पाठकहरुकै विश्वास, माया र सद्भाव ठानेका छौं । जस्तासुकै अवस्थामा पनि जनतासँगै हाम्रो कलमलाई थप तिखो पार्दै जनआवाजलाई पत्रकारितका माध्यमबाट मुखारित गर्न अग्रसर जनसवाल राष्ट्रिय दैनिक सदैव आफ्नो पत्रकारिताको यात्रामा निरन्तर, निर्भिक र निष्पक्षताका साथ अगाडि बढिरह्यो । अहिलेको जनचाहना समृद्धिको हो । जनता अब राजनीतिक आन्दोलन र परिवर्तनबाट विकास र समृद्धिको तीब्र आंकाक्षामा छन । जसलाई हामीले पनि आत्मसाथ गरेका छौं र समृद्धि र विकासको यात्रामा निसन्देह सहभागी भएका छौं । पाठकलाई जस्तोसुकै अवस्थामा पनि सूचना प्रवाह गर्ने हाम्रो दायित्वलाई हामीले हाम्रा लाखौं पाठक, विज्ञापनदाता, सहकर्मी, कर्मचारी तथा शुभचिन्तकसँग हातेमालो गर्दै अहिले पनि निरन्तररुपमा अगाडि बढिरहेका छौं । हाम्रो यो सुनौलो यात्राको साक्षीको रुपमा हामीलाई सदैव साथ दिनुहुने सम्पूर्ण नेपाली र गैर आवासीय नेपालीमा १८ औं वार्षिकोत्सवको यो खुशीको क्षणलाई बाँडदै हाम्रो यात्रा थप प्रभावकारी, पूर्ण र निरन्तरता बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं । हाम्रो यात्रामा सधैंझैं भविष्यमा पनि यहाँहरुको साथ, सहयोग र सहकार्यको अपेक्षा राख्दछौं । धन्यवाद !
रामजी बगाले
अध्यक्ष/सम्पादक

प्रतिक्रिया
सम्बन्धित समाचार