काठमाडौं(जस)–एसीसी अन्डर १९ एसिया कपको दोस्रो खेलमा पनि नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २६२ रनको लक्ष्य बंगलादेशले ४९.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो । बंगलादेशका लागि अकबर अलीले नटआउट रहँदै ९८ रन बनाएर टोलीलाई जीत दिलाए । उनले ४२ रन बनाएर नटआउट रहेका सामिन होसेनसँग शतकीय साझेदारी गरेपछि बंगलादेश विजयी बनेको हो । त्यस्तै, तहिद हृदोयले ६० तथा मोहमदुल हसन जोयले ४० रनको योगदान दिए । नेपालका लागि कमलसिंह ऐरीले २ तथा रसिद खान र हरिबहादुर चौहानले १–१ विकेट लिए ।
यसअघि, पवन शर्राफ र सन्दीप जोराले अर्धशतक बनाएपछि नेपालले निर्धा्रित ५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको थियो । श्रीलङ्काको पी सारा मैदानमा टस हारेर नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेपालका लागि शरार्फले १११ बलमा सर्वा्धिक ८१ रनको योगदान दिए । उनले यस क्रममा ८ चौका र १ छक्का हिर्काए । उनले ओपनर रित गौतमसँग मिलेर पहिलो विकेटको लागि ४५ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात दिए । गौतमले तीन चौका र एक छक्का हिर्काउँदै ३२ रन बनाए । त्यस्तै, सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै ३७ बलमा ५६ रन बनाउँदै नेपाललाई विशाल योगफलतर्फ डोर्याए । जोराले ३ चौका र समान छक्का हिर्काए ।कुशल मल्लले २८ तथा भीम सार्कीले २१ रनको योगदान दिए । बंगलादेशका लागि तन्जिम हसन र मोहमद साहिन अलोमले २–२ विकेट लिए । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो ।
सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लाग्यो
श्रीलंकामा जारी अन्डर १९ एशिया कपको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ । प्रतियोगिताका अन्तिम खेल नहुदै सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको हो । प्रतियोगितामा समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बि बाट घरेलु टिम श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् । समुह ए बाट भारत र अफगानिस्तान दुवै २(२ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेका हुन् । शनिबार भएको खेलमा अफगानिस्तानले कुवेतलाई ७ विकेटले पराजति गरेको हो । यस अघि अफगानिस्तानले पहिलो खेलमा विहिबार पाकिस्तानलाई समेत पराजित गरेको थियो । त्यस्तै समुह ए को अर्को खेलमा भारतले पाकिस्तानलाई ६० रनले पराजित गरेको थियो । भारतले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।
समुह ए मा कुवेत र पाकिस्तान दुवैले २–२ खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएका छन् । त्यस्तै समुह बि बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । श्रीलंकाले पहिलो खेलमा नेपाललाई र आइतबार भएको दोस्रो खेलमा युएईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । त्यस्तै बंगलादेशले पहिलो खेलमा युएईलाई र आइतबार भएको दोस्रो खेलमा नेपाललाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । समुह बि बाट नेपाल र युएई आफ्ना २–२ खेलमा हार बेहोरेर बाहिरिएका छन् । नेपाल भने समुह चरणका दुवै खेलमा पराजित भएर सेमिफाइनलमा पुग्न असफल भएको छ । नेपालले समुह चरणको अन्तिम खेलमा अब युएईसँग खेल्ने छ ।