काठमाडौँ(जस)–इङलिश प्रिमियर लिगअन्तर्गत आर्सनलले वाटफोर्डलाई पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वाटफोर्डलाई १(० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा पिएरे ईमरिक अउबमेयांगले खेलको १०औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए । ईमरिक अउबमेयांगले लिगमा आफ्नो १८औ गोल गर्दै आर्सनललाई महत्वूर्ण जित दिलाएका हुन् । वाटफोर्डका ट्रोय डीने खेलको ११औ मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि वाटफोर्ड १० खेलाडीमा सिमित भएको थियो । जितपछि आर्सनल लिगमा ३३ खेलमा ६६ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ भने वाटफोर्ड ३३ खेलमा ४६ अंकसहित १०औ स्थानमा रहेको छ । आर्सनलले अब अर्को खेल युरोपा लिग अन्तर्गत नापोलीसँग आगामी विहिबार खेल्ने छ ।