चितवन(जस)–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताएका छन् । भरतपुर महानगरपालिकाले बुधबार यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए । छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति लिएको देख्न नपाए उनीहरूमा बेचैनी बढेर जाने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, “हामीले छिटोभन्दा छिटो ‘एक्सन’द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ । नेताहरू विकासको नयांँ युगतिर जानुपर्छ ।” अब पनि देशले राजनीतिक अन्योल र अस्थिरता थाम्न नसक्ने भएकाले हामी सबैको ध्यान विकास र निर्माणतर्फ लगाउन जरुरी भएको उहांँको भनाइ थियो ।
देशमै रोजगारी सिर्जना गरी विकासलाई नयांँ युगतिर लैजान जोड दिँदै अध्यक्ष दाहालले देशमा शान्ति, स्थिरता र राष्ट्रको एकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सबै लाग्न पनि आग्रह गरे । नवलपरासी, मकवानपुर, धादिङ र गोर्खाको केन्द्रबिन्दुका रुपमा रहेको चितवनलाई नमूना जिल्लाको रुपमा अघि बढाएर देशैभर सन्देश दिन आफूले चाहेको बताउँदै उनले यहांँ रहेको भरतपुर विमानस्थललाई विस्तार गर्ने कार्यमा आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । विमानस्थल स्तरोन्नतिका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका विषयमा रक्षा र पर्यटन मन्त्रालयका मन्त्री एवं उच्च अधिकारीहरूसंँग छलफल गरिने अध्यक्ष दाहालले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौँ विमामस्थलमा चाप बढ्दै गएकाले आन्तरिक साना जहाज उडान र अवतरणका लागि वैकल्पिक विमानस्थलको रुपमा भरतपुरलाई विकास गरिने र यसका लागि अध्ययन गर्न एक हप्ताभित्र समिति गठन गरी काम अघि बढाइने बताए । उहांँले अब यस खालका छलफल र बैठक नगर्न काम अघि बढाइने छ भने । मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रममा पनि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार गरी रात्रिकालीन उडान गर्ने जानकारी दिँदै मन्त्री भटृराईले उक्त विमानस्थल जोखिमपूर्ण बन्दै गएकामा भने उडान बन्द गर्ने वा विस्तारको विकल्प नभएको बताए ।
मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले आवश्यक ठानेमा संँगै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न सकिने जानकारी दिए । आफ्नो प्रदेशका सबै जिल्लामा साना विमानस्थल जरुरी रहे पनि भरतपुर विमानस्थललाई विस्तार गरिनुपर्नेे, प्रदेशको राजधानी हेटौँडा नै सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको र यसका लागि पनि भरतपुर विमानस्थल विस्तार गर्नुपर्नेमा उनले जोड दिए । नेपाली सेनाका प्रदेश नम्बर ३ का पृतनापति ताराध्वज पाण्डेले सेना विकासको बाधक नभएको भन्दै प्राविधिक समिति बनाएर आवश्यक गृहकार्य गर्न सकिने बताए ।
अन्तरक्रियामा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य, राजनीतिक दलका प्रमुख एवं स्थानीय उद्योगी, व्यवसायी र सरोकारवाला निकायका पदाधिकारीले विमानस्थल विस्तारका लागि सुझाव दिनुभएको थियो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जिल्लामा एकै खालका दुई विमानस्थल आवश्यक नहुने भन्दै भरतपुर विमानस्थललाई काठमाडौँको वैकल्पिक विमानस्थलको रुपमा विकास गरिनुपर्ने बताए । उक्त विमानस्थल विस्तारका क्रममा नेपाली सेनालाई स्थानान्तरण गर्न आवश्यक जग्गा उपलब्ध गराउन सकिने उनको भनाइ थियो ।
नागरिक उड्डयन प्राधिकरणका एरोड्रम इञ्जिनीयरिङ विभागका निर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले भरतपुर विमानस्थलको प्राविधिक पक्ष र उक्त विमानस्थलका प्रमुख पवन गौतमले विमानस्थलको समग्र अवस्थाबारे जानकारी गराउनु भएको थियो । धावनमार्ग छोटो हुंँदा जहाज उडान र अवतरणमा कठिनाइ हंँुदै आएको छ । नजिकै रहेको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थल विस्तार गरेर ७२ सिटे जहाज अवतरण गर्न सक्ने बनाउनका लागि पहल थालिएको हो । उक्त विमानस्थलबाट दैनिक ११ वटा जहाज काठमाडौँ र पोखरा उडान हंँुदै आएको छ ।
सुरक्षाका लागि राष्ट्रिय परिचयपत्र चाहिन्छ : अध्यक्ष दाहाल
चितवन(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र सुरक्षा सबै दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन रणनैतिक महत्व रहेको बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय चितवनको बुधबार जिल्ला प्रशासन कार्यालय परिषरमा उद्घाटन गर्दै उनले राष्ट्रिय परिचयपत्र आम नेपालीका लागि महत्वपूर्ण रहेको बताए । राष्ट्रिय परिचयपत्र नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै उनले परिचयपत्र निर्माण गर्ने र वितरण गर्ने विषयमा दलहरु तथा सरकारका बीचमा पनि छलफल हुँदै आएको बताए । उनले भने, “अन्ततः आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु भएको छ ।” ऐनका सम्बन्धमा प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पुगेकाले त्यहाँबाट पनि पारित हुने उहँले विश्वास दिलाए ।
सो अवसरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले परिचयपत्रमा दिइने ‘दश अङ्क’ व्यक्तिको परिचय भएको जानकारी दिए । पाँचथरबाट शुरु भएको परिचयपत्र वितरणको कार्य दोस्रो चरणमा चितवनसहित १५ जिल्लामा लागू भएको र चालू आर्थिक वर्षमा नै देशभर लागू हुने उनले बताए । प्रजिअ जितेन्द्र बस्नेतले असार महीनाबाट परिचयपत्र निर्माणको काम शुरु भएको जानकारी दिए । कार्यालयको उद्घाटनपछि पूर्वप्रधानमन्त्री दाहालले समेत परिचयपत्रका लागि तस्वीर खिचाउने, बायोमेट्रिक गर्ने, आफ्नो विवरण कम्प्युटरमा दर्ता गर्ने काम गरेका थिए ।