पोखरा(जस)–पोखरा लामाचौरमा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी विभागीय टिम नेपाल पुलिसले जितेको छ । इन्द्रराज्य लक्ष्मी माविको परिसरमा भएको फाईनल खेलमा न्यु डाइमण्ड एकेडेमी काठमाडौंलाई ३र० को सोझो सेटमा हराउँदै पुलिसले प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले २५–१६, २५–१४ र २५–२० को सहज जित निकाल्यो । जितसंगै पुलिसले १ लाख १ सय ५५ रुपैयाँ हात पार्याे । अनुभवी खेलाडीको बाहुल्यता रहेको प्रहरी सामु युवा जोसले भरिएका डाइमण्डका खेलाडीले रक्षात्मक खेल खेल्न सकेनन् । उपविजेता बनेको डाइमण्डले ६५ हजार ५ रुपैयाँमा चित्त बुझायो ।
यसैगरी तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले जित निकालेको छ । गण्डकीले २५–१३, २५–२० र २५–१८ को सोझो सेटमा श्री राम खेलकुद विकास समिति दाङलाई पराजित गर्दे तेस्रो स्थान पक्का गरेको हो । जितसँगै गण्डकीले २५ हजार ५ रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा नेपाल पुलिसकी मनिषा चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । त्यसैगरी पुलिसकै पुष्पा चौधरी वेष्ट ब्लकर, कोपिला उप्रेती वेष्ट स्पाइकर र सुशीला थापा वेष्ट सटर घोषित भए । गण्डकी प्रदेशकी रस्मिता दुरा वेष्ट लिविरो र पबित्रा सेन्चुरी वेष्ट क्विकरको उपाधि हात पारिन् । न्यु डाइमण्डकी झरना श्रेष्ठले वेष्ट सरभरको उपाधि हात पारिन् ।