सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मंगलबार ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी(बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको मंगलवार ‘ब्रेक थ्रु’ भएको हो । टनेल बोरिङ मेशिन (टीबीएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।
सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक)ले टीबीएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।
सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजना शुरु भएको हो ।
बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टीबीएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो ।
सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ । काम सम्पन्न पश्चात ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
आजै सुर्खेत आउनुभएका प्रधानमन्त्री ओलीले यसपछि सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित थिए ।