काठमाडौं(एजेन्सी)–साबिक विजेता युभेन्टसले इटालियन लिगमा नापोली विरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गरेको छ । इन्जुरी समयमा कालिडो कोउलीबेलीले आत्मघाती गोल गर्दा युभेन्टस विजयी भएको हो । योसँगै नापोलीले ३ गोलले पछि परेको स्थिति उल्टाएको खेर गएको छ । डिफेन्डिङ च्याम्पियन युभेन्टसले ड्यानिलो, गोन्जालो हिग्वाइन र क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले खेलमा ३–० को अग्रता लिएको थियो ।
तर, १५ मिनेटको अन्तरालमा नापोलीका लागि कोस्टास मानोलास, हर्भिङ लोजानो र जियोभानी डि लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, इन्जुरी समयमा आत्मघाती गोलले नापोलीले अंक बटुल्न सकेन । जीतपछि युभेन्टसले शतप्रतिशत नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । नापोली आठौँ स्थानमा सिमित बनेको छ । अर्को खेलमा एसी मिलानले ब्रेसिया १–० गोलले पराजित गर्यो । मिलान लिगको दशौँ स्थानमा रहेको छ ।