काठमाडौं(एजेन्सी)–स्पेनिस ला लिगा अन्तर्गत ओसासुनाले बार्सिलोनालाई बराबरीमा रोकेको छ । गएराती सम्पन्न खेलमा ओसासुना र बार्सिलोनाबीचको खेल २(२ गोलले बराबरीमा रोइएको हो । ओसासुनाले यस खेलमा खेलको सातौ मिनेटमा नै रोबेर्टो टोरेजले गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएको थियो । पहिलो हाफमा १(० ले पछि परेको बार्सिलोना दोस्रो हाफमा युवा खेलाडी अन्सु फातीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । फातीले ५१औ मिनेटमा गोल गर्दै ला लिगामा कम उमेरमा गोल गर्ने तेस्रो युवा खेलाडी बनेका छन् ।
त्यसपछि खेलको ६४औ मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई २(१ को अग्रता दिलाएका थिए । तर खेलको ८१औ मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेको डिबक्सभित्र भएको ह्याण्ड बलका कारण ओसासुनाले पेनाल्टी पायो र सो पेनाल्टीलाई टोरेजले गोलमा परिणत गर्दै खेल २(२ गोलको बराबरीमा सकिएको थियो । आफ्ना प्रमुख खेलाडी लियोनेल मेसी, लुइस स्वरेज र ओसमान डेम्बेले बिना खेलेको बार्सिलोनाले यस सिजनमा खेलेका ३ खेलमा एक जित एक बराबरी र एक हार बेहोरेको छ ।
अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका एन्टोनी ग्रीजम्यान यस खेलमा भने निराशाजनक प्रदर्शन गर्दै आफ्नो क्षमता अनुसार खेल्न भएका छन् । बार्सिलोनाले अब अर्को खेल सेप्टेम्बर १४ मा भलेन्सियाविरुद्ध खेल्ने छ, जुन खेलमा मेसी उपलब्ध हुने छन् । ओसासुनाले भने सेप्टेम्बर १५ मा रियल भल्लाडोलिडविरुद्ध खेल्ने छ ।