बुटवल(जस)– आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत १५औँ राष्ट्रिय लनटेनिस प्रतियोगितामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका संरक्षकभूषण बज्राचार्यले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा पहिलोपटक सहभागिता जनाइरहेको एनआरएनकालगि बुटवलमा सम्पन्न पुरुष एकल लनटेनिसको फाइनलमा बज्राचार्यल त्रिभुवन आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ अङ्कको सोझो सेटमा हराए । खनालले रजत पदकमै चित्त बुझाए । उक्त स्पर्धामा गण्डकी प्रदेशका प्रदीप खड्का र एपीएफ क्लबका सन्तोष खत्रीले कास्य पदक पाए ।

यस्तै महिला एकल लनटेनिसको उपाधि एपीएफ क्लबकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा उनले त्रिभुवन आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । त्रिभुवन आर्मीकी इरा रावत तथा प्रदेश ३ की रायना शाहले कास्य पदक पाए ।

यसैगरी पुुरुष युुगल इभेन्टस्तर्फ एपीएफ क्लबका जितेन्द्र परियार र आईभन्हो लिसानोभीचको जोडीले स्वर्ण पदक जित्यो । गण्डकी प्रदेशका प्रदीप खड्का र नबिन मगरको जोडीले रजत, गण्डकी प्रदेशकै धरम लामीछाने र अनील शाही तथा एपीएफ क्लबका छेवाङ लामा र सन्तोष खत्रीको जोडीले कास्य पदक प्राप्त गरे । यस्तै महिला युुगलतर्फ एपीएफ क्लबका सलोनी तामाङ र अस्लेसा लिसानोभीचको जोडीले स्वर्ण पदक प्राप्त गरे । एपीएफ क्लबकै प्रेरणा कोइराला र एनी माथेमाको जोडीले रजत, गण्डकी प्रदेशकी श्रीया भट्टराई र रोमीका बुुद्धाचार्यको जाडी तथा त्रिभुवन आर्मीकी अभिलाशा विष्ट र आइरा एम रावतको जोडीले कास्य पदक जिते ।

यसैगरी मिश्रित इभेन्टस्मा एपीएफ क्लबका आईभन्हो लिसानोभीच र अस्लेसा लिसानोभीचको जोडीले स्वर्ण पदक तथा त्रिभुवन आर्मीका प्रणब खनाल र अभिलाशा विष्टको जोडीले रजत, गण्डकी प्रदेशका अनिल साई र गङ्गा शर्माको जोडी तथा त्रिभुवन आर्मीका अभिनव आचार्य र आईरा एम रावतको जोडीले कास्य पदक प्राप्त गरे । विजेता खेलाडीलाई प्रदेश ५ का प्रदेशसभा सदस्य तथा नेकपाका प्रदेश प्रमुुख सचेतक भुुमिश्वर ढकाल, लनटेनिस सङ्घका केन्द्रीय अध्यक्ष ज्योती राणा, जिल्ला खेलकूुद विकास समितिका अध्यक्ष योग गुुरुङ, बुुटवल उपमहानगरपालिका– ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलगायतले प्रमाणपत्र तथा शिल्ड प्रदान गरेका थिए ।

आठौँ राष्ट्रिय खेलकूदः साइक्लिङमा आर्मीलाई स्वर्ण
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री पुरुष साइक्लिङमा त्रिभुवन आर्मी च्याम्पियन बनेको छ । बैजनाथ गाउँपालिका– १ गाभरमा सोमबार भएको सो प्रतियोगितामा आर्मीले एक स्वर्ण र एक रजत पदक जितेको छ । राष्ट्रिय साइक्लिङ खेलमा पुरुषतर्फ त्रिभुवन आर्मीका ओकेशराज बज्राचार्यले स्वर्ण जितेका हुन् । बज्राचार्यले ४ दशमलव ६ किलोमिटरको पाँच ल्याप एक घण्टा २५ मिनेट नौ सेकेन्डमा पूरा गरे । आर्मीकै हिमाल टमाटाले सो दूरी एक घण्टा २६ मिनेट ६ सेकेन्डमा पूरा गरी रजत पदक तथा गण्डकी प्रदेशका हिक्मत विकले एक घण्टा २६ मिनेट ४४ सेकेन्डमा पूरा गरी कास्य पदक जिते ।
क्रसकन्ट्री महिला साइक्लिङतर्फ ४ दशमलव ६ किलोमिटरको चार ल्यापमा प्रदेश नं ३ की लक्ष्मी मगरले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी एक घण्टा २० मिनेट ५२ सेकण्डमा पूरा गरिन् । गण्डकी प्रदेशकी उषा खनालले सो दूरी एक घण्टा ३३ मिनेट ३८ सेकेण्डमा पूरा गरी रजत तथा प्रदेश ३ की निरजला ताम्राकारले एक घण्टा ३५ मिनेट ५६ सेकेण्डमा दूरी पार गरी कास्य पदक जितिन् । । बाँके साइक्लिङ सङ्घका अध्यक्ष राजकुमार विसीका अनुसार पुरुष साइक्लिङमा आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब तथा ६ वटा प्रदेशका ३० खेलाडी सहभागी थिए । महिला साइक्लिङमा १२ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।