मंगलबार, मंसिर ८ २०८३

मंगलबार, मंसिर ८ २०८३

एनआरएनएको ११८औँ आईसीसी बैठक सम्पन्न, बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणलगायत महत्वपूर्ण निर्णय

मंगलबार, मंसिर ८ २०८३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठक विभिन्न समसामयिक, सांगठनिक तथा संस्थागत विषयमा छलफल र निर्णय गर्दै सम्पन्न भएको छ।

सन् २०२६ नोभेम्बर २२ अर्थात् २०८३ मंसिर ६ गते संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बसेको बैठक महासचिव डा. चिरञ्जीवी खड्काले सञ्चालन गरेका थिए। बैठकमा विश्वभरबाट आईसीसी पदाधिकारी, सदस्य, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद्का आमन्त्रित अध्यक्षहरूको सहभागिता रहेको थियो।

बैठकले रसुवा र नुवाकोटमा भोटेकोशी बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन पहल गर्ने निर्णय गरेको छ। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि प्रस्तावित अवधारणा तथा योजनामाथि छलफल गर्दै हालसम्मको प्रगति, प्राप्त सुझाव, आवश्यक सहयोग र आगामी कार्यदिशाबारे समीक्षा गरिएको थियो।

पुनर्निर्माण योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सरकारी निकाय, साझेदार संस्था तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य अघि बढाउने निर्णय बैठकले गरेको छ। प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन तथा सहयोग जुटाउन समेत संघले पहल गर्ने जनाएको छ।

त्यस्तै, संघको विधान संशोधन तथा आवश्यक परिमार्जनका लागि महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा विधान संशोधन सुझाव समिति गठन गर्ने निर्णय गरिएको छ। सन् २०२७ जनवरी ६ मा भर्चुअल माध्यमबाट आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीसँगै विधान संशोधनसम्बन्धी कामलाई अघि बढाउने विषयमा बैठकले छलफल गरेको थियो।

संघको संस्थागत संरचना, विधान तथा आवश्यक सुधारका विषयलाई व्यवस्थित रूपमा अघि बढाउन समितिले सुझाव तयार गर्ने जिम्मेवारी पाउनेछ।

बैठकले संघका समसामयिक गतिविधि, संस्थागत कार्यदिशा तथा आगामी कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्यमा जोड दिएको जनाइएको छ।

प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघ (NRNA) को ११८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) बैठकका निर्णयहरू
गैरआवासीय नेपाली संघ (NRNA) को ११८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) बैठक सन् २०२६ नोभेम्बर २२ (२०८३ मंसिर ६ गते) सफलतापूर्वक सम्पन्न भएको छ। संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन महासचिव डा. चिरञ्जीवी खड्काले गर्नुभएको थियो। बैठकमा विश्वभरबाट ICC का पदाधिकारी, सदस्य, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद् (NCC) का आमन्त्रित अध्यक्षहरूको सहभागिता रहेको थियो। बैठकमा विभिन्न समसामयिक, सांगठनिक तथा संस्थागत विषयमा विस्तृत छलफल गरी देहायबमोजिम निर्णयहरू गरिएको छः

१. भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण योजना
रसुवा र नुवाकोटमा भोटेकोशी बाढीबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणका लागि प्रस्तावित अवधारणा तथा योजनामाथि छलफल गरी हालसम्मको प्रगति, प्राप्त सुझाव, आवश्यक सहयोग तथा आगामी कार्यदिशाबारे विचार आदानप्रदान गरियो। पुनर्निर्माण कार्यका लागि आवश्यक स्रोत जुटाउन पहल तथा समन्वय गर्ने र योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकाय, साझेदार तथा सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य अघि बढाउने निर्णय गरियो।

२. विधान संसोधन सुझाव समिति गठन
२०२७ जनवरी ६ मा भर्चुअल माध्यमबाट आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनको समग्र तयारीबारे छलफल गरि संघको विधान संशोधन तथा आवश्यक परिमार्जनसम्बन्धी कार्यलाई अघि बढाउन महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा देहाय बमोजिम विधान संसोधन सुझाव समिति गठन गर्ने निर्णय गरियो।
संयोजक: महासचिव डा. चिरञ्जीवी खड्का

सल्लाहकारहरु

डा. बद्री के.सी. (निवर्तमान अध्यक्ष)
महेश कुमार श्रेष्ठ (निवर्तमान अध्यक्ष)
विनोद कुँवर (पुर्व अध्यक्ष)
आरके शर्मा (पुर्व अध्यक्ष)
बाबुराम लामा (पूर्व महासचिव)
गौरीराज जोशी (पूर्व महासचिव)
ओम गुरुङ (पुर्व उपमहासचिब )
सदस्यहरु

दीपक गौतम (उपमहासचिब)
पारसमणि पोखरेल(उपमहासचिब)
स्वतन्त्रप्रताप शाह (उपमहासचिब)
अनुजा प्रधान (उपमहासचिब)
राजेन्द्र अर्याल (उपमहासचिब)
मोहम्मद मुक्तदा मुसलमान (उपमहासचिब)
वेदराज बस्नेत (उपमहासचिब)
दिनेशकुमार घिमिरे (उपमहासचिब)
बिनोद कार्की (उपमहासचिब)
प्रकाश धमला (उपमहासचिब)
कृष्ण पोखरेल (उपमहासचिब)
नवराज रोस्यारा (उपमहासचिब)
दीपक ओली (उपमहासचिब)
नारायण काफ्ले (पुर्व उप महासचिब)
3 . अनुशासन समिति गठन

संघको संस्थागत मर्यादा, अनुशासन तथा आन्तरिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन देहायका व्यक्तिहरू सम्मिलित अनुशासन समिति गठन गर्ने निर्णय गरियो:

रतन झा – पूर्व महासचिव
सपिला राज भण्डारी – पूर्व उपाध्यक्ष
मन केसी – पूर्व उपाध्यक्ष
डा. देवी बस्नेत – पूर्व उप महासचिव
डा. देवकाजी डंगोल – पूर्व उपाध्यक्ष
४. गैरआवासीय नेपाली संघका आगामी कार्यक्रम तथा गतिविधिहरू

संघद्वारा आयोजना हुन गइरहेका आगामी कार्यक्रम तथा सम्मेलनहरूको समग्र तयारी तीव्र पारिएको सन्दर्भमा २०२६ डिसेम्बर २ देखि १५ सम्म सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा संघको सहभागिता तथा सहयोग अघि बढाउने, २०२६ डिसेम्बर ४ र ५ मा जनकपुरमा आयोजना हुने छैटौँ गैरआवासीय नेपाली स्वास्थ्य सम्मेलन तथा २०२६ डिसेम्बर ११ र १२ मा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन (प्रथम गैरआवासीय नेपाली विश्व श्रम सम्मेलन) लाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक समन्वय र व्यवस्थापन अघि बढाउने निर्णय गरियो। त्यसैगरी, २०२७ जनवरी २ देखि ४ सम्म आयोजना हुने प्रथम गैरआवासीय नेपाली दोस्रो पुस्ताको विश्व सम्मेलन, प्रथम गैरआवासीय नेपाली महिला विश्व सम्मेलन तथा चौथो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलनको तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने र दोस्रो नेपाली साहित्य गोष्ठि तथा सम्मेलन, ७ जनवरीमा आयोजना गर्ने निर्णय गरियो। उल्लिखित सबै सम्मेलन तथा कार्यक्रमहरूलाई भव्य र सफल बनाउन प्रायोजनका लागि अपिल गर्ने, सम्पूर्ण गैरआवासीय नेपालीहरूमा सक्रिय सहभागिताका लागि आह्वान गर्ने तथा आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग पुर्‍याउने निर्णय गरियो।

मिति : २०८३ मंसिर ०७ तदनुसार २२ नोभेम्बर २०२६

सोमनाथ सापकोटा
प्रवक्ता
गैरआवासीय नेपाली संघ (एनआरएनए)

प्रतिक्रिया
सम्बन्धित समाचार