सोमबार, मंसिर ७ २०८३
-गंगाधर गौतम
देशको पुरानो र लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेस यतिबेला गम्भीर मोडमा पुगेको छ । नेपालको हरेक आन्दोलन र राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेस गत वर्ष भएको जेनजी विद्रोह पछि किनारामा परेको जस्तो अवस्थामा छ । जेनजी विद्रोह पछि नेपालको राजनीतिले नयाँ बाटो अंगाल्दै गर्दा सांगठनिक वैधानिकता र महाधिवेशनको बहसले नयाँ मोड लिएको छ ।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय समितिको निर्णय बिनै
गत पुस मसान्तमा भएको विशेष महाधिवेशन र असोजमा भएको नियमित महाधिवेशनले पार्टीलाई गम्भिर मोडमा पुर्याएको छ।
नेपाली कांग्रेस पार्टीको १४ औ महाधिवेशन द्वारा निर्वाचित केन्द्रीय समितिले वड़ा,नगर, क्षेत्र,जिल्ला, प्रदेश हुदै यही मंसिर २१, २२ र २३ मा काठमाडौँमा १५औँ महाधिवेशन हुदैछ।
पार्टीको वैधानिकताका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भने दुवै पक्षले आफूलाई आधिकारिकता मिल्ने दाबी सहित आफ्ना सांगठनिक गतिविधी अगाडी बढाएको अवस्था छ।
नेपाली कांग्रेस जस्तो ऐतिहासिक पृष्ठभूमि बोकेको पार्टीको महाधिवेशन केवल पार्टीको नियमित प्रक्रिया मात्र होइन, लोकतन्त्रको संस्थागत अभ्यास, आन्तरिक एकता र प्रवासी नेपालीहरूको पहिचान तथा अधिकारसँग जोडिएको संवेदनशील घडी पनि हो । विगत केही महिनादेखि पार्टीभित्र देखिएको विवाद निर्वाचन आयोग हुँदै सम्मानित सर्वोच्च अदालतसम्म पुग्दा उत्पन्न अन्योलका बीच महाधिवेशनको पूर्वसन्ध्यामा उठेका विचार, चिन्ता र अपेक्षाहरूलाई गम्भीरतापूर्वक आत्मसात् गर्नु आजको आवश्यकता बनेको छ।
कुनै पनि लोकतान्त्रिक दलको प्राण भनेको समयमै हुने महाधिवेशन, खुला संवाद र कार्यकर्ताको भावनाको कदर हो । पछिल्ला राजनीतिक तथा कानुनी घटनाक्रमहरूले पार्टी पंक्तिमा द्विविधा सिर्जना गरेको यथार्थलाई नकार्न सकिँदैन। पुसको अन्तिम साता भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशन, साउन ७ मा सर्वोच्च अदालतले दिएको फैसला र साउन २१ मा पुनरावलोकनको बाटो खुलेपछिका परिस्थितिहरूले पार्टीभित्र फरक–फरक बुझाइ र बहस जन्माएका छन् । एकातिर गगन थापाको नेतृत्वमा असोज १६–१९ मा सम्पन्न १५औँ महाधिवेशनमार्फत केन्द्रीय कार्यसमिति गठन भइसकेको अवस्था छ, जहाँ जनसम्पर्क समितिहरूको समेत उल्लेख्य सहभागिता रह्यो र प्रवासका प्रतिनिधिहरू केन्द्रीय संरचनामा समेटिए । अर्कोतिर, १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा मंसिर २१–२३ मा काठमाडौँमा अर्को १५औँ महाधिवेशनको तयारी भइरहेको छ । यस्तो जटिल र संवेदनशील अवस्थामा कानुनी तथा प्राविधिक जित–हारको गणितभन्दा माथि उठेर पार्टीको बृहत्तर एकता र संस्थागत निरन्तरतालाई केन्द्रमा राख्नु नै बुद्धिमानी हुन्छ ।
अदालतको पुनरावलोकन प्रक्रियाबाट आउने अन्तिम फैसलालाई स्वीकार गर्नु लोकतान्त्रिक मर्यादा र विधिको शासनप्रतिको निष्ठा हो । तर, कानुनी लडाइँको अन्तिम किनारा लाग्दासम्म प्रतीक्षा गर्दा एउटा पक्षमा जितको उन्माद र अर्को पक्षमा हारको तिक्तता उत्पन्न हुने जोखिम रहन्छ, जसले भावनात्मक एकतामा गहिरो खाडल पार्न सक्छ । त्यसैले, फैसलाको प्रतीक्षा गर्नुभन्दा अगावै दुवै पक्षका शीर्ष नेतृत्वले पूर्वसर्त बिना खुला संवाद थाल्नु र सम्मानजनक समायोजनको बाटो तय गर्नु सबैभन्दा सर्वहितकारी विकल्प हो । संवाद र समझदारीबाट सहमति जुटाउन सकियो भने कुनै एक पक्ष हारेको अनुभूति हुँदैन, बरु समग्रमा “नेपाली कांग्रेस एकताबद्ध भयो” भन्ने सकारात्मक सन्देश देश तथा विदेशमा प्रवाह हुन्छ । महाधिवेशन बहिष्कार गर्ने वा दूरी बढाउने प्रवृत्तिले कसैको पनि हित गर्दैन, बरु एउटै मञ्चमा उभिएर विचार, नीति र असहमति राख्दा नै लोकतान्त्रिक पार्टी जीवन्त र परिपक्व बन्छ । एकताको वातावरण धमिलिने गरी कारबाही, निष्कासन वा कटु अभिव्यक्ति दिने कार्य तत्काल रोकिनुपर्छ, किनकि आन्तरिक कलहमा अल्झिरहँदा आगामी निर्वाचनमा जनताले कांग्रेसलाई भरोसायोग्य विकल्पका रूपमा नहेर्ने खतरा रहन्छ ।
महाधिवेशनलाई पार्टीको आन्तरिक शक्ति–सन्तुलन र नेतृत्व चयनमा मात्र सीमित नराखी विश्वभर छरिएर रहेका लाखौँ नेपालीहरूको पहिचान, अधिकार, सम्मान र मातृभूमिसँगको सम्बन्धलाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याउनुपर्ने बेला आएको छ । जननायक बी.पी. कोइरालाको पहल र नेतृत्वमा सन् १९७६ जुन १३ मा भारतको मुम्बईबाट सुरु भएको नेपाली जनसम्पर्क समितिको यात्रा आज झन्डै ४० मुलुकमा फैलिएको छ । लोकतन्त्र, राष्ट्रियता र समाजवादको आदर्शलाई प्रवासमा रहेका नेपालीमाझ पुर्याउने बी.पी.को दूरदर्शी सोच आज पनि उत्तिकै सान्दर्भिक छ । यदि कांग्रेसले प्रवासी नेपालीहरूको पहिचान, अधिकार र राजनीतिक प्रतिनिधित्वका सवालमा स्पष्ट नीति र दृढ प्रतिबद्धता अघि सार्न सकेमा विश्वका १०० भन्दा बढी मुलुकमा जनसम्पर्क समितिको सञ्जाल विस्तार हुने प्रचुर सम्भावना छ । अहिले संगठनको आकार बढाउने विषय होइन, नेपाली कांग्रेसको लोकतान्त्रिक विचार र सञ्जाललाई विश्वव्यापी बनाउने ऐतिहासिक अवसर पनि हो ।
गैरआवासीय नेपाली संघले लामो समयदेखि उठाउँदै आएको “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने भावनालाई व्यवहारमा उतार्न नेपालको संविधान २०७२ मा आवश्यक संशोधन तथा कानुनी र नीतिगत सुधारका लागि नेपाली कांग्रेसले नेतृत्वदायी पहल गर्ने स्पष्ट उद्घोष गर्नुपर्छ । संवैधानिक रूपमा व्यवस्था गरिएको गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी र सहज कार्यान्वयन, नेपाली नागरिकता र राष्ट्रिय पहिचानसँगको भावनात्मक नाता, तथा प्रवासी नेपालीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र मानवीय क्षेत्रमा पुर्याएको योगदानको संरक्षणका लागि पार्टीले ठोस नीति र कार्ययोजना सार्वजनिक गर्नु अपरिहार्य छ । प्रवासी नेपालीहरूलाई केवल विप्रेषण वा लगानीको स्रोतका रूपमा मात्र बुझ्ने परम्परागत दृष्टिकोणबाट माथि उठेर उनीहरूलाई पार्टीको नीति निर्माण, संगठन सञ्चालन र राजनीतिक प्रक्रियाको अभिन्न साझेदारका रूपमा स्वीकार गर्नुपर्ने समय आइसकेको छ ।
विदेशमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई कांग्रेसको अभिन्न अंगका रूपमा सम्मान गर्दै आन्तरिक निर्णय प्रक्रिया र महाधिवेशनमा तिनको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । जनसम्पर्क समितिका सदस्यहरूले पार्टीको आन्तरिक प्रतिस्पर्धामा बिना अवरोध सहभागी हुन पाउने व्यवस्था मिलाउँदै केन्द्रीय समितिमा कम्तीमा एक पदाधिकारीसहित १० जना समावेशी केन्द्रीय सदस्यको व्यवस्था तथा महाधिवेशन प्रतिनिधिको संख्यात्मक पुनर्संरचना विधानमै समेटिनु सान्दर्भिक देखिन्छ । साथै, प्रवासको सांगठनिक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समन्वय परिषद्, महादेशीय संयन्त्र र प्रत्येक कार्यकालमा नेपालमै अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारण सभा गर्ने वैधानिक व्यवस्था गर्न सकिएमा प्रवासमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, पुँजी, अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई मातृभूमिको समृद्धिमा जोड्ने बलियो सेतु नेपाली कांग्रेस बन्न सक्छ ।
प्रवासी नेपालीहरूको आवाज केवल विदेशमा बसोबास गर्नेहरूको सुविधाका लागि मात्र सीमित छैन; भावी पुस्ताको नेपाली पहिचान, मातृभूमिसँगको निरन्तर सम्बन्ध र देशको समृद्ध भविष्यसँग जोडिएको साझा सरोकार हो । तसर्थ, मंसिर २१, २२ र २३ गते काठमाडौँमा हुने महाधिवेशनको सन्दर्भमा देश तथा विदेशका अग्रज नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, जनसम्पर्क समितिका पदाधिकारी तथा गैरआवासीय नेपाली अभियानका अगुवाहरूबीच सार्थक संवाद र नीतिगत विमर्श हुनु जरुरी छ। कुनै गुट वा व्यक्ति विशेषको स्वार्थभन्दा माथि उठेर पार्टीको सुदृढीकरण, प्रवासको सम्मान र संवादमार्फत हुने बृहत्तर एकताका पक्षमा सबैको साझा स्वर बुलन्द हुन सकेमा मात्र १५औँ महाधिवेशनले वास्तविक अर्थमा नयाँ ऊर्जा र दिशा प्रदान गर्न सक्नेछ । कांग्रेस एक रहोस्, लोकतन्त्र बलियो रहोस् । जय नेपाल (पूर्व सभापति नेपाली जनसम्पर्क समिति बेल्जियम, पूर्व उपाध्यक्ष गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद)
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij