काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले हवाई भाडामा भएको अस्वाभाविक वृद्धिका कारण भोग्नुपरेको अतिरिक्त आर्थिक भार न्यूनीकरण गर्ने विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) बीच छलफल भएको छ ।
आज सम्पन्न छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि हवाई टिकटको मूल्यमा भइरहेको वृद्धि, टिकट उपलब्धतामा देखिएको समस्या तथा हवाई भाडा निर्धारणमा ट्राभल एजेन्सी र एयरलाइन्सको भूमिकाबारे विचारविमर्श भएको हो ।
छलफलमा हवाई यात्रुको चाप बढ्दा टिकट अभाव हुनु परिस्थितिजन्य हुन सक्ने भए पनि बढी मूल्य तिरेपछि मात्रै टिकट उपलब्ध हुने अवस्था उचित नभएको निष्कर्ष निकालिएको छ । यस्तो अवस्थाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पारिरहेको भन्दै यसको समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने सहमति भएको छ ।
समस्याको समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN), बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स इन नेपाल (BARN) तथा नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूसँग आवश्यक छलफल र समन्वय गर्न औपचारिक रूपमा पत्राचार गर्ने निर्णय गरिएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई केन्द्रमा राखेर हवाई भाडा स्थिर तथा सहज बनाउन सरकारले विशेष पहल गर्नुपर्नेमा दुवै संस्थाले जोड दिएका छन् । साथै, नेपालका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने र नेपालमा बजेट एयरलाइन्स भित्र्याउने पहल गर्न सके हवाई सेवा प्रतिस्पर्धात्मक बन्ने तथा यात्रुले राहत पाउने अपेक्षा गरिएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई हवाई भाडाको अस्वाभाविक वृद्धिबाट जोगाउनु साझा उद्देश्य रहेको उल्लेख गर्दै दुवै संस्थाले यस विषयमा सम्बन्धित निकाय, सरोकारवाला तथा सरकारको सकारात्मक सहयोग र सहकार्यको अपेक्षा गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षले श्रमिकमाथि थप आर्थिक भार पर्ने अवस्थाको अन्त्य गर्न सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् ।