काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो केन्द्रीय नेतृत्व तथा सदस्यहरूलाई राजनीतिक दल र राजनीतिक उद्देश्य बोकेका संघसंस्थामा रहेको पद तथा सदस्यता सात दिनभित्र त्याग्न निर्देशन दिएको छ।
संघका महासचिव डा. चिरञ्जीवी खड्काले मंगलबार जारी गरेको औपचारिक परिपत्रमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का सबै पदाधिकारी तथा सदस्यलाई यस्तो निर्देशन दिएका हुन्।
एनआरएनएको विधानले संस्थालाई गैरराजनीतिक चरित्रको संगठनका रूपमा परिभाषित गरेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्दै संस्थाको स्वतन्त्रता, स्वायत्तता र तटस्थता कायम राख्न राजनीतिक आबद्धता अन्त्य गर्नुपर्ने संघको निष्कर्ष छ।
संघका अनुसार पछिल्लो समय केही पदाधिकारी तथा सदस्यहरू नेकपा एमाले, नेपाली कांग्रेसलगायत राजनीतिक दल तथा राजनीतिक उद्देश्य भएका संगठनमा विभिन्न जिम्मेवारीमा निर्वाचित, मनोनीत वा चयन भएको विषयमा उजुरी तथा गुनासाहरू प्राप्त भएका छन्।
यस विषयलाई संघले अक्टोबर ४ र ५, २०२६ मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा समेत छलफलको विषय बनाएको थियो। बैठकले एनआरएनएको गैरराजनीतिक पहिचानमा कुनै सम्झौता नगर्ने र विधानमा भएका प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको परिपत्रमा उल्लेख छ।
निर्देशनअनुसार राजनीतिक दल वा राजनीतिक उद्देश्य भएका संस्था तथा संगठनमा पदाधिकारी अथवा कार्यकारी सदस्यको जिम्मेवारीमा रहेका एनआरएनएका पदाधिकारी र सदस्यले परिपत्र प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित पद वा सदस्यता त्याग्नुपर्नेछ। त्यसरी जिम्मेवारीबाट अलग भएको आधिकारिक प्रमाणसहित लिखित जानकारीसमेत संघको सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
संघले तोकिएको समयसीमाभित्र निर्देशन पालना नगर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ। प्राप्त उजुरीमाथि छानबिन गर्दा विधानविपरीत गतिविधि गरेको पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि संघको विधान र प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।
महासचिव खड्काले जारी गरेको परिपत्रमा यो निर्णय कुनै व्यक्तिलाई लक्षित गरेर नभई संस्थाको ११७औँ बैठकको निर्णय कार्यान्वयन तथा एनआरएनएको संस्थागत पहिचान र गैरराजनीतिक चरित्र जोगाउने उद्देश्यले लिइएको स्पष्ट पारिएको छ। परिपत्र तत्काल लागू हुनेसमेत उल्लेख छ।
यो निर्देशन कार्यान्वयनमा आएमा राजनीतिक दलमा सक्रिय जिम्मेवारी सम्हालिरहेका एनआरएनएका पदाधिकारी तथा सदस्यले राजनीतिक आबद्धता र संघको जिम्मेवारीमध्ये एउटा रोज्नुपर्नेछ। यसले विदेशमा रहेका नेपालीहरूको साझा संस्थाका रूपमा एनआरएनएको राजनीतिक तटस्थता कायम राख्ने विषयलाई पुनः चर्चामा ल्याएको छ।