जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न शनिबार आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै इच्छुक प्रदेशसभा सदस्यलाई आगामी मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समयसीमा तोकेको छ ।
यसअघि मुख्यमन्त्री यादवले शनिबार नै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएका यादवको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका हुन् ।
राजीनामा पत्रमा उनले वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न पद त्यागेको उल्लेख गरेका छन् ।
यादव २०८२ मंसिर १९ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
यसअघि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशसभाको अंकगणितीय जोडघटाउमा अल्झिनुभन्दा स्थिर सरकार निर्माण र राजनीतिक निकासका लागि राजीनामा दिने निर्णय गरेको बताएका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
मुख्यमन्त्री यादवको राजीनामासँगै अब मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच राजनीतिक समीकरण निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ ।