काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले खाडी मुलुकमा कार्यरत नेपाली श्रमिक, व्यवसायी तथा दक्ष जनशक्तिले आर्जन गरेको सीप, अनुभव, ज्ञान र पुँजीलाई नेपालको राष्ट्रिय विकाससँग जोड्ने नीति बनाउन सरकारसँग माग गरेको छ।
कतारस्थित नेपाली राजदूतावासमा नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनासँग भएको भेटघाट तथा अन्तरक्रियामा एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीले खाडीमा रहेका नेपालीका साझा समस्या, अपेक्षा र सम्भावनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
अन्तरक्रियामा पन्थीले विदेशमा रहेका नेपालीलाई राष्ट्रिय परिचयपत्र, राहदानी, कन्सुलर तथा अन्य सरकारी डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउन प्रभावकारी व्यवस्था गर्नुपर्ने माग राखे। त्यसैगरी, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्न सहुलियतपूर्ण ऋण, लगानीमैत्री वातावरण, व्यावसायिक परामर्श तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
उनले खाडी मुलुकलाई केवल वैदेशिक रोजगारी र रेमिट्यान्सको स्रोतका रूपमा मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए। खाडीमा रहेका नेपाली व्यवसायी, लगानीकर्ता, विज्ञ, प्राविधिक तथा दक्ष जनशक्तिलाई नेपालको औद्योगिक, कृषि, पर्यटन र व्यावसायिक विकासका साझेदारका रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
त्यसैगरी, समस्यामा परेका नेपाली श्रमिकका लागि प्रभावकारी कानुनी परामर्श, उद्धार, आपत्कालीन सहयोग तथा स्वदेश फर्किएपछि पुनःस्थापनाको व्यवस्था सुदृढ गर्नुपर्ने विषय पनि उठाइएको थियो।
विदेशमा रहेका नेपालीलाई सरकारी सूचना तथा डिजिटल सेवासँग जोड्न, साइबर सुरक्षा र अनलाइन ठगीविरुद्ध जनचेतना अभिवृद्धि गर्न तथा नेपाल सरकार, नेपाली राजदूतावास र एनआरएनएबीच संस्थागत समन्वयको प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने मागसमेत राखिएको पन्थीले जानकारी दिए।
भेटका क्रममा पन्थीले आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुन लागेको एनआरएनएको ९औँ मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ बारे मन्त्री तिमिल्सिनालाई जानकारी गराउँदै विशेष उपस्थितिका लागि निमन्त्रणा दिएका थिए।
‘सहयात्रा (सँगै यात्रा)’ मूल नारासहित आयोजना हुने सम्मेलनको मुख्य विषय ‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य — एनआरएनएको लक्ष्य ’ रहेको छ।
सम्मेलनमार्फत मध्यपूर्वमा रहेका नेपाली श्रमिकको सुरक्षा, सुरक्षित वैदेशिक रोजगारी, श्रमिक अधिकार, सीप तथा प्रविधिको हस्तान्तरण, लगानी र नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाबारे छलफल गरिने अपेक्षा गरिएको छ।
खाडी मुलुकमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने नागरिकका रूपमा नभई नेपालको विकासका साझेदार, अनुभवी जनशक्ति, लगानीकर्ता र ज्ञानका स्रोतका रूपमा राज्यले सम्बोधन गर्नुपर्ने एनआरएनए कतारको धारणा छ।
‘विदेशमा बसेर सिकेको सीप, आर्जन गरेको अनुभव र निर्माण गरेको सामर्थ्य नेपालको समृद्धिका लागि उपयोग गर्न सकिन्छ। खाडीमा नेपालीले गरेको योगदानलाई राष्ट्रिय विकासको अवसरमा रूपान्तरण गर्नु आजको आवश्यकता हो,’ पन्थीले भने।
उनले व्यक्ति भन्दा संस्था ठूलो हुने उल्लेख गर्दै समृद्ध नेपाल र सम्मानित नेपाली निर्माणका लागि सरकार, दूतावास र गैरआवासीय नेपालीबीच सहकार्य आवश्यक रहेको बताए।