आइतबार, कार्तिक २२ २०८३
–बिजय खड्का
कुनै पनि समाजको इतिहास लेख्दा राजनीतिक र सामाजिक घटनाको मात्र चर्चा गरेर पुग्दैन । त्यस समाजको सूचना र सञ्चारको विकासक्रम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सञ्चारमाध्यमले समाजको अवस्था, परिवर्तन र चेतनालाई अभिलेख गर्छन् । तर, हाम्रो देशमा स्थानीय पत्रकारिता इतिहास लेख्ने र सुरक्षित राख्ने अभ्यास अझै सीमित छ । यही अभावलाई चिर्ने प्रयास हो, ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक । रामहरि कार्कीले लेखन तथा सम्पादन गरेको यो पुस्तकले ललितपुरको पत्रकारिताको विगत र वर्तमानलाई एउटै ठाउँमा समेटेको छ । नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाले प्रकाशन गरेको यस पुस्तकमा सञ्चारमाध्यमको विकास, पत्रकारिता शिक्षा, पत्रकारसँग सम्बन्धित संघसंस्था र अग्रज पत्रकारहरूका अनुभव समेटिएका छन् । पुस्तक चार खण्डमा विभाजित छ । यसले ललितपुरको पत्रकारिता कसरी सुरु भयो, कसरी फैलियो र यसमा कसको कस्तो योगदान रह्यो भन्ने विषयलाई सरल ढङ्गले प्रस्तुत गरेको छ ।
७४ वर्षको पत्रकारिता यात्रा
पुस्तकले ललितपुरको ७४ वर्षे पत्रकारिता यात्रालाई अभिलेख गरेको छ । यसअघि लेखिए पनि पर्याप्त चर्चा नपाएका र लिपिबद्ध हुन नसकेका धेरै विषय यसमा समेटिएका छन् । पुस्तकमा उल्लेख भएअनुसार ललितपुरमा पत्रकारिताको इतिहास २००९ सालबाट सुरु भएको देखिन्छ । त्यस वर्ष संस्कृतिविद् सत्यमोहन जोशीको सम्पादनमा ‘कलाकार’ त्रैमासिक प्रकाशित भएको थियो । त्यसयता जिल्लामा छापा, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताको विस्तार हुँदै आएको छ । पुस्तकमा हालसम्म ललितपुरमा ३८२ वटा पत्रपत्रिका दर्ता भएको उल्लेख छ । त्यस्तै, २०८२ असार मसान्तसम्म जिल्लामा २२७ वटा अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । ललितपुरको पहिलो अनलाइनका रूपमा रातोपाटी डटकमलाई चिनाइएको छ ।
रेडियो पत्रकारिताको सुरुवात पनि पुस्तकमा समेटिएको छ । सामुदायिक रेडियोका रूपमा स्थापित रेडियो सगरमाथालाई ललितपुरको पहिलो रेडियोका रूपमा अभिलेख गरिएको छ । त्यसपछि जिल्लामा विभिन्न एफएम रेडियो सञ्चालनमा आए । पुस्तकले रेडियो सगरमाथादेखि उज्यालो, कान्तिपुर, क्लासिक, पर्यावरण, हेडलाइन्स एन्ड म्युजिक एफएम, रेडियो नेसन, किङ्डम भ्वाइस र रेडियो ललितपुरसम्मको यात्रा समेटेको छ । सिआइएन र एन्टेना फाउन्डेसनजस्ता संस्थाको भूमिकाबारे पनि चर्चा गरिएको छ । टेलिभिजन पत्रकारिताको सुरुवात नेपाल मण्डल टिभीबाट भएको पुस्तकमा उल्लेख छ । जिल्लामा यस क्षेत्रमा २७ वटा टेलिभिजनको यात्रा जोडिएको छ । माउन्टेन टेलिभिजन, जिएनएन, नेपाल मण्डल, बिजनेस प्लस र कृषि टेलिभिजनलगायतका माध्यमको परिचय र योगदान यसमा समेटिएको छ । त्यसमध्ये १३ वटा टेलिभिजन च्यानलको विवरण पहिलो खण्डमा प्रस्तुत गरिएको छ ।
अनलाइन पत्रकारिताको विस्तारलाई पनि पुस्तकले विशेष स्थान दिएको छ । रातोपाटी, सेतोपाटी, देशसञ्चार, लोकान्तर, क्लिकमान्डु र हिमालखबरजस्ता चर्चित अनलाइनसँगै मानव आवाज डटकम, दैनिकीन्युज डटकम, ललितखबर डटकम र शब्दपाटीलगायतका सञ्चारमाध्यमको विवरण राखिएको छ । यसले जिल्लामा अनलाइन पत्रकारिता कसरी विस्तार भयो भन्ने बुझ्न सघाउँछ । पत्रकारिता सञ्चारमाध्यममा मात्र सीमित हुँदैन । यसको विकासका लागि शिक्षा पनि उत्तिकै आवश्यक हुन्छ । पुस्तकमा पाटन संयुक्त क्याम्पसमा २०३६ सालमै पत्रकारिता विषयको पढाइ सुरु भएको उल्लेख छ । जनभावना क्याम्पस र नमुना मच्छिन्द्र क्याम्पससहित पत्रकारिता पढाइ हुने अन्य शैक्षिक संस्थाको पनि परिचय दिइएको छ । पाटन हाइस्कुल, प्रभात माध्यमिक विद्यालय र नवज्योति माध्यमिक विद्यालयमा प्लस टु तहमा पत्रकारिता शिक्षाको अभ्यासबारे समेत जानकारी समेटिएको छ ।
पत्रकारिताका संगठन र संस्थागत योगदान
पुस्तकको दोस्रो खण्डमा ललितपुरमा पत्रकारितासँग सम्बन्धित संघसंस्था र संगठनको चर्चा छ । जिल्लामा क्रियाशील नौवटा संस्थाको परिचय, उद्देश्य र गतिविधि यसमा समेटिएका छन् । नेपाल पत्रकार महासङ्घ, प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन, फोनिज ललितपुर, नेवाः पत्रकार राष्ट्रिय दबु र तामाङ पत्रकार सङ्घ ललितपुर यस खण्डमा समेटिएका संस्था हुन् । यी संस्थाले पत्रकारको हकहित, पेसागत सुरक्षा, क्षमता विकास र पत्रकारिताको प्रवद्र्धनमा खेल्दै आएका भूमिकाबारे पुस्तकले जानकारी दिन्छ । यसबाट ललितपुरमा पत्रकारिताको विकाससँगै पत्रकारका सङ्गठन पनि कसरी विस्तार भए भन्ने बुझ्न सकिन्छ ।
अग्रज पत्रकारका अनुभव र सङ्घर्ष
पुस्तकको तेस्रो खण्ड विशेष महत्वको छ । यसमा २३ जना अग्रज तथा अनुभवी पत्रकारका अनुभव र संस्मरण समेटिएका छन् । पत्रकारितामा प्रवेश गर्दाका दिन, काम गर्दाका कठिनाइ, सङ्घर्ष र उपलब्धिका कथा यसमा पढ्न पाइन्छ । ८३ वर्षीय रामकृष्ण कर्माचार्यदेखि लक्ष्मणबहादुर विष्ट, मुक्तिनाथ आचार्य, प्रभुनारायण बस्नेत र संगीता खड्कालगायतका पत्रकारका अनुभव यस खण्डमा समावेश छन् । पुरानो पुस्तासँगै दोस्रो र तेस्रो पुस्ताका पत्रकारका अनुभवले पनि ठाउँ पाएका छन् । यी संस्मरण व्यक्तिगत अनुभव मात्र होइनन् । यिनमा ललितपुरको पत्रकारिताले पार गरेको समय, भोगेका चुनौती र हासिल गरेका उपलब्धि झल्किन्छन् । विगतमा पत्रकारिता गर्दा भोग्नुपरेका कठिनाइ र अहिलेको अवस्थाबीचको अन्तर बुझ्न पनि यी अनुभव उपयोगी छन् । नयाँ पुस्ताका पत्रकारका लागि त यी सामग्री झनै महत्वपूर्ण छन् । अग्रजले गरेको सङ्घर्ष, पेसाप्रतिको निष्ठा र पत्रकारिताप्रतिको लगावले उनीहरूलाई प्रेरणा दिन सक्छ ।
संस्थागत इतिहासको अभिलेख
पुस्तकको चौथो खण्डमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको सङ्गठनात्मक परिचय राखिएको छ । यसमा शाखाका कार्यसमिति र नेतृत्वसँग सम्बन्धित विवरण समेटिएका छन् । यसले संस्थाको नेतृत्व विकास, जिम्मेवारी र सङ्गठनात्मक संरचना बुझ्न सहयोग गर्छ । यसरी पुस्तकले सञ्चारमाध्यमको विकाससँगै पत्रकारिता क्षेत्रको संस्थागत यात्रा पनि देखाएको छ । यसमा व्यक्ति, संस्था, सञ्चारमाध्यम र शिक्षालाई एउटै सूत्रमा जोडिएको छ ।
इतिहास जोगाउने प्रयास
पत्रकारिता निरन्तर परिवर्तन भइरहेको क्षेत्र हो । हिजोका सञ्चारमाध्यम आज बन्द भइसकेका हुन सक्छन् । कतिपय पत्रकार विस्मृतिमा पुग्न सक्छन् । उनीहरूले गरेका काम र भोगेका सङ्घर्ष पनि समयसँगै हराउन सक्छन् । त्यसैले यस्ता विषयलाई समयमै अभिलेख गर्नु आवश्यक हुन्छ । ‘ललितपुरको पत्रकारिता इतिहास’ यही आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको पुस्तक हो । यसले ललितपुरमा सञ्चालित छापा, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमको विकासक्रमलाई तथ्य र विवरणसहित प्रस्तुत गरेको छ । साथै पत्रकारिता शिक्षाको अवस्था, पत्रकारका सङ्गठन र अग्रज पत्रकारका अनुभवलाई पनि समेटेको छ ।
पुस्तकको अर्को महत्वपूर्ण पक्ष स्थानीय पत्रकारितालाई जिल्लाको सामाजिक इतिहाससँग जोड्नु हो । सञ्चारमाध्यमको सङ्ख्या र नाम मात्र प्रस्तुत गर्नु यसको उद्देश्य होइन । ती माध्यमको सुरुवात, विकास र योगदानलाई पनि अभिलेख गर्ने प्रयास गरिएको छ । अवश्य पनि पत्रकारिता इतिहास निरन्तर अद्यावधिक भइरहनुपर्ने विषय हो । नयाँ सञ्चारमाध्यम थपिन्छन् । पुराना बन्द हुन्छन् । पत्रकारका नयाँ पुस्ता आउँछन् । त्यसैले यस पुस्तकलाई ललितपुरको पत्रकारिता इतिहासको अन्तिम अभिलेखभन्दा पनि आगामी अध्ययन र अनुसन्धानका लागि आधारका रूपमा लिन सकिन्छ । २४८ पृष्ठको यस पुस्तकको मूल्य ६५० रुपैयाँ छ । पुस्तकको प्रस्तुती तथा भाषा सरल छ । पत्रकारिता विद्यार्थी, सञ्चारकर्मी, अनुसन्धानकर्ता र स्थानीय इतिहासमा रुचि राख्ने पाठकका लागि यो उपयोगी सन्दर्भ सामग्री बन्न सक्छ ।
स्थानीय इतिहास लेख्नु भनेको विगतका घटना टिपोट गर्नु मात्र होइन । समाज निर्माणमा योगदान पु¥याएका व्यक्ति, संस्था र अभ्यासलाई भावी पुस्तासम्म पु¥याउनु पनि हो । यही अर्थमा ‘ललितपुरको पत्रकारिता इतिहास’ एउटा पुस्तक मात्र होइन, जिल्लाको सञ्चार विकासको दस्ताबेज हो । ललितपुरको पत्रकारिताका विगतका डोबहरू पच्छ्याउँदै हालसम्म लिपिबद्ध हुन नसकेको इतिहासको सङ्गालो हो । ललितपुरमा हुने पत्रकारिता विश्वभर भइरहेको पत्रकारिताकै एउटा सानो तथा अहंम् अंश वा झिल्को हो । वैश्विक रूपमा अभ्यास गरिने पत्रकारिताले यहाँको स्थानीय पत्रकारितालाई पनि प्रभावित पार्छ भने यहाँको पत्रकारिता विश्वको क्षितिज चिहाउने सुन्दर आँखीभ्याल हुन सक्छ, यो पुस्तक । यसले ललितपुरको पत्रकारिता इतिहासलाई सुरक्षित राख्ने काम गरेको छ । साथै अन्य जिल्लालाई पनि आफ्नो पत्रकारिता इतिहास खोज्न, सङ्कलन गर्न र प्रकाशन गर्न प्रेरणा दिन सक्छ । यसभन्दा झापा र रुकुम जिल्लाको इतिहास प्रकाशन भएको देखिन्छ । जिल्लाबाट सुरु भएको यस्तो अभिलेखीकरणले भविष्यमा नेपालको समग्र पत्रकारिता इतिहास लेखनलाई समेत आधार दिने अपेक्षा गर्न सकिन्छ । (लेखक पोखरा विश्वविद्यालयका पीएचडी स्कलर हुन् ।)
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij