काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी गरेका छन् ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभमा बहुमत गुमाएपछि रबियोले सन् २०२८ को राष्ट्रपति चुनावमा होमिन डोनाल्ड ट्रम्पको प्रशासन छोड्न सक्ने दाबी गरिएको छ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अज्ञात स्रोतलाई उद्धृत गर्दै रुबियोले आफ्नो भविष्यबारे विकल्प विचार गरिरहेको रिपोर्ट गरेका छन्।
बेलायती सञ्चारमाध्यम द इन्डिपेन्डेन्टले रिपब्लिकन पार्टीको मध्यावधि चुनावमा खराब नतिजापछि रुबियोले ट्रम्प प्रशासन छोड्न सक्ने जनाएको छ। रिपोर्टमा उनी सन् २०२८ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने सम्भावनालाई ध्यानमा राखेर प्रशासनबाट बाहिरिन सक्ने दाबी गरिएको हो।
ब्लूमबर्गले पनि रुबियोले ह्वाइट हाउसका अधिकारीसँग पद छोड्ने सम्भावनाबारे कुरा गरेको दाबी गरेको छ। केही स्रोतका अनुसार उनलाई प्रशासनमै रहन प्रोत्साहित गरिएको थियो। तर रुबियोको कार्यालयले यो दाबीलाई अस्वीकार गरेको छ।
यसबिच, रुबियोले न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा भने आफू ट्रम्पको कार्यकालको अन्त्यसम्म प्रशासनमा काम गर्ने योजना रहेको बताएका छन्। उनले सन् २०२८ को राष्ट्रपति चुनावबारे अहिले थप टिप्पणी नगर्ने पनि बताएका छन्।
रुबियो अहिले अमेरिकाको विदेशमन्त्रीसँगै ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारीमा पनि छन्। ट्रम्प प्रशासनमा उनको प्रभावशाली भूमिका रहेकाले उनको सम्भावित बहिर्गमनबारेको चर्चा विशेष चासोका साथ हेरिएको छ।
सन् २०२८ को राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीभित्र सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भइसकेको छ। उपराष्ट्रपति जेडी भान्ससँगै रुबियोलाई पनि सम्भावित उम्मेदवारका रूपमा हेरिँदै आएको छ।